२०१९ साल फागुनको एक दिन काठमाडौंबाट दिल्लीका लागि उड्नुपर्ने विमान निर्धारित समयभन्दा अबेरसम्म उड्न सकेन । यसको कारण थियो एउटा बाकस जुन पन्ध्र जनाभन्दा बढी जवानले पनि ट्रलीमा लोड गर्न सकिरहेका थिएनन् । उनीहरुले हजार प्रयत्न गरे तर सबै खेर गयो । अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेको सो बाकस विमानमा लोड गर्नै नसकेकाले विमान उडान नै स्थगित भयो
मैतिदेवी गुठीका तत्कालिन गुठीयार नाइके तुलसीनारायण मुनिकारका अनुसार यो घटनाले विमानस्थलका सबैलाई अचम्ममा पार्यो । सबैतिर हल्लीखल्ली मच्चियो । र, सुरक्षाकर्मीहरुले आदेशअनुसार बाकस फोरे । त्यहाँ मञ्चकुमारी मैतिदेवी र श्री भैरवको काठको मूर्ति देखियो । तर, कसैले पनि त्यो मुर्ति यहीको हो भनेर चिन्न सकेनन् । र, जिल्ला प्रहरी कार्यालय काठमाडौं चलान गरियो । यो समाचारले उपत्यकाका तिनै शहरमा ठूलो स्थान पाएको थियो ।
यसअघि नै मैतिदेवीका गुठियारहरुले मालिगाउँस्थित द्यःछे बाट २०१९ सालको तिहार अगाडि मैतिदेवीको मुर्ति हराएको जाहेरी काठमाडौं जिल्ला प्रहरी कार्यालयमा दिइसकेका थिए । त्यसैले सबैको आंशका त्यतै मोडियो । र, मैतिदेवी गुठीका नाइकेलाई बोलाई बुझ्दा दुवै मुर्ति मैतिदेवीकै ठहरियो ।
त्यसपछि २०१९ साल फागुन १७ गते दुवै मुर्ति खटमा राखेर तिनै शहर डुलाइयो । र, क्षमा पूजासहित पुनः द्यःछेमै राखियो । यसैबेलादेखि प्रत्येक वर्ष दशैको अष्टमीका दिन श्री ५ हरु मैतीदेवी सवारी होइबक्सने चलन छ ।
यो भन्दा पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो । तर, मैतीदेवीको यस प्रकारको घटना घटेपछि यी सबै शक्तिपीठहरुमा श्री ५ हरु स्वयं सवारी हुने परम्परा बसेको छ ।
उपत्यकाका प्रसिद्ध शक्तिपीठहरुमध्ये श्री पञ्चकुमारी मैतीदेवी पनि एक हो । करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ । चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरु पाइन्छ ।
जनश्रुतिहरुअनुसार पौराणिककालमा पञ्चकन्याहरु आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए । बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरुलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रुपमा यसलाई 'माइती देवी' हुँदै मैतीदेवी भन्ने गरिएको हो । त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती -हालको धोवीखोला मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार -किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा -शीला) भेटे । त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए । त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरु मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए । त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरुलाई बताए । पञ्चकुमारीहरुलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन् । त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन् ।
यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी त कतै मयती देवी आदि पनि भन्ने गरेको पाइन्छ ।
यहाँ सबैभन्दा पहिले राजा गुणकामदेव -ललितपुर घाँयाबुमा प्राप्त ने. स. १०७ को शिलालेखबाट यिनको शासनकाल १०४३ भन्ने बुझिन्छ) ले कान्तिपुर शहरको स्थापना गरेपछि यसका वरीपरी गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृकाजस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ इतिहासविद्हरुको छ । इतिहासविद् भुवनलाल प्रधानका अनुसार यहाँ पहिलो पटक मन्दिर निर्माण काठमाडौं राज्यका राजा प्रताप मल्ल -ने. स. ७६१-९४, वि.स. १६९८-१७३१ ) ले गरेका हुन् ।
हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११ मा चतुर्देशी सेवा खलकले बनाएका थिए । ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७.०० मिटर उचाई रहेको यो मन्दिरको भित्ताको मोटाई ०.४५ से.मी. रहेको छ । सदस्य सचिव श्रेष्ठका अनुसार यसमा दच्ची आप्पा नामको इट्टा प्रयोग भएको छ भने सिमेन्टका रुपमा सुर्की -चुना, इँट्टाको धुलो र थोरै पतिशत सिमेन्ट) प्रयोग गरिएको छ ।
वि. स. १९२९ ताका श्री ३ भिम शम्सेरबाट पञ्चवलीको पुजा गर्ने चलन चलाएर वि. स. १९४९ मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल -धर्मशाला) बनाए । सो सत्तलको जीर्णोद्धार २०३६ सालमा गरेको पाइन्छ । त्यस्तै चन्द्र शम्सेरले मन्दिरको ढोका दैनिक रुपमा खोल्ने र लगाउने व्यवस्था गरेका थिए । उनैले १९६५ मा मन्दिरको छानामा सुनको जलप लगाएका थिए । मैतिदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव मोहनबहादुर श्रेष्ठका अनुसार वि.स.१९८९ वैशाखमा हरिदास हलुवाईले भित्ताहरुमा सेतो टायल लगाएका थिए ।
यस्तै यहाँ अन्य धेरै कार्यहरु भएका छन् । तर, ती सबैका कुनै लिखत छैनन् । त्यसैले कस्ले कहिले के बनायो र कति खर्च लाग्यो भन्ने कुरा अज्ञात रहेको छ । पहिले-पहिले आफूले गरेको पुण्यको प्रचार गर्नु हुन्न भन्ने मान्यताका कारण पनि ती कार्यहरुको लेखोट नरहेको हुन सक्ने बताइन्छ ।
त्यसैगरी, वि.स. २०५८ सालबाट यस मन्दिरको पुनः जीर्णोद्धार सुरु गरिएको छ । यस पटकको जीर्णोद्धारमा भने अठार लाख बजेट छुट्याएको मैतीदेवी प्रबन्ध समितिका सदस्य सचिव श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार यसमध्ये पुरातत्व विभागले ४ लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ६ लाख र बाँकी प्रबन्ध समितिले व्यहोर्ने भएको छन् ।
त्यसैगरी सन् १९९८ मा मैतिदेवी मन्दिर अंकित हुलाक टिकट प्रकाशन भएको छ भने सदस्य सचिव यस मन्दिरका बारेमा पुस्तक लेखिरहनु भएको छ ।
घाटको विवाद
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको छ । यसको असर अहिले वरपरका घरहरुमा परिरहेको छ । तर, यो घाट हटाउन कानुन र परम्परा बाधक बनेको भनाइ सदस्य सचिव श्रेष्ठको छ । यस घाटमा नेवार समुदायका सात जातिको दाहसंस्कार गर्ने गरिन्छ । तिनमा मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही थरका नेवारहरु पर्दछन् । मन्दिरहाताभित्र रहेको यो घाटमा परापूर्वकाल देखिनै लाश सद्गद् गर्ने गरिएका कारण परम्परागत चलनलाई कानुनले पनि उन्मुक्ति दिएकोले हटाउन कठिनाई परेको बताइन्छ ।
घाट हटाउन स्थानीय बासिन्दाले पटक-पटक पहल गरिसकेका छन् । तर, सम्बन्धित निकायले तिनै बाधाअड्चन अघि सार्ने गरेको छ । वस्तीबीचमा रहेको सो घाटसँगै माविस्तरका विद्यालयहरु समेत छन् । सो घाटमा लाश जलाउँदा बाल मष्तिस्कमा नकारात्मक असर पर्ने सक्ने, लाश जलाएको खरानी आँगनमा आउने, जलाइदा दुवाबाट दुर्गन्ध फैलने भएका कारण सो घाट बन्द गर्न स्थानीय बासिन्दाले दवाव दिएका हुन् ।
सदस्य सचिव श्रेष्ठ पनि यो स्वीकार्नु हुन्छ तर उहाँको प्रश्न छ-''सार्ने कहाँ त ?'' उहाँको कथन छ ''सार्नका लागि कानुनी प्रबन्ध र ठाउँको व्यवस्था हुने हो भने सार्नै नमिल्ने होइन । कुनै जातको जातीय परम्परा भन्दैमा त्यसले अन्य सबैलाई असर पुर्याउछ भने सरकारले कानुन बनाएर भएपनि त्यस्तो चलन अन्त्य गर्नुपर्छ ।''
तर, सो घाट दावी गर्ने सात जाति श्रेष्ठको भनाइसँग सहमत छैनन् । परम्परादेखि नै चल्दै आएको घाट पूर्ववत् चल्नुपर्छ भन्ने उनीहरुको भनाइ छ । धोविखोला मैतिदेवी गुठीका नाइके नुन्छेमान मुनिकार पनि यो परम्परा तोड्न नहुने बताउनु हुन्छ ।
त्यसो त लाश जलाएको धुप मैतीदेवीलाई सुँघाउनैपर्ने चलन रहेको पनि बताइन्छ । त्यसकारण पनि घाट सार्न नहुने तर्क एकाथरिको छ । तर, यतिकै लागि सर्वसाधरणको स्वास्थ्यमै प्रतिकुल असर पर्ने गरी लाश जलाउन नहुने तर्क स्थानीयबासीको छ । सदस्य सचिव श्रेष्ठ भन्नुहुन्छ-''मैतिदेवी मातालाई धुप चाहिएको हो । लाश यही जलाउनुपर्छ भन्ने छैन । मता संसरभर हुनुहुन्छ । मैतिदेवीका नाममा भारतको वनारसमा लगेर जलाए पनि हुन्छ ।'' बरु मैतिदेवीसँग माफी माग्न क्षमा पूजा आदि गर्न सकिने उहाँको भनाइ छ ।
जग्गा विवाद
यो मन्दिर रहेको जग्गाको क्षेत्रफल ८ रोपनी ९ आना ३ दाम रहेको छ । यसका अन्य स्थानमा पनि जग्गा रहेको भएपनि सबै मन्दिरको नाममा प्राप्त भइनसकेको सदस्य सचिव श्रेष्ठले बताउनुहुन्छ । हाल मन्दिरको नाममा ३९ रोपनी छ । नेपालको अन्य ठुला मठ मन्दिरहरुझै यो मन्दिर पनि गुठीकै आधारमा चलेको छ ।
यहाँ पनि नेपालका अन्य गुठीहरुमा जसरी नै गुठीको जग्गा व्यक्तिले हडपेका छन् । गुठी संचालन गर्ने अख्तियार पाएका मुनिकारहरुले नै अहिले मन्दिरको जग्गा व्यक्तिको नाममा गर्ने अभियान नै चलाएको सदस्य सचिव श्रेष्ठको छ । यस क्रममा उनीहरुले धोवीखोला मैतिदेवी छुट गुठी नै गठन गरेका छन् ।
श्रेष्ठका अनुसार वि.स. १९६८ मा जग्गा सम्बन्धि ठूलो विवाद भएको थियो । त्यो विवाद चन्द्र सम्शेरसम्म पुग्यो । तत्पश्चात चन्द्र सम्शेरले ३२ परिवार मुनिकारहरुलाई मन्दिर नियमित संचालन गर्ने र सो जग्गा भोग चलन गरिखाने गरी दिएका थिए । तर, उनीहरुले कालन्तरमा जग्ग्ाा आफ्नै बनाए । त्यो क्रम अझ जारी छ । चन्द्र सम्शेरकै त्यतिबेलाको निर्णयअनुसार अहिले पनि मुनिकारहरुले जात्रा गर्ने, बज्राचार्यले पुजा गर्ने र देवपालहरुले मन्दिरको सरसफाई र रेखदेख गर्ने चलन छ ।
दिनेश बस्नेत
No comments:
Post a Comment