Monday, April 5, 2010

वीरताकी प्रतिमुर्ति रानी चाँद बीबी

सन् १५८० को कुरा हो । तत्कालीन भारतको विजापुरका वादशाह आदिल शाहको हत्या भयो । दरवारिया र मन्त्रीहरुले उनका बालक भतिज इब्राहिमलाई गद्दीमा राखे र आदिल शाहकी विधवा श्रीमति चाँद बीबीलाई इब्राहिमको संरक्षक घोषित गरे ।
छिमेकी राज्य अहमद नगरकी राजकुमारी चाँद बीबी कसैका लागि पनि अपरिचित थिइनन् । राजाको हत्या हुनुअघि पनि उनी आफ्नो श्रीमान आदिल शाहको विश्वासपात्र र प्रमुख सल्लाहकार नै थिइन् । अक्सर यु-अभियानहरुमा पनि उनी आफ्नो श्रीमानलाई साथ दिने गर्दथिइन् । युद्ध-कला, घोडचडी, तरबारबाजी र निशानेबाजीमा उनी जति पारङ्गत थिइन्, त्यतिनै राजनीतिमा पनि दख्खल राख्दथिइन् ।
    उनी अक्सर गरेर अहमद नगर जाने गर्दथिइन् । सन् १५९५ को कुरा हो, एक दिन उनलाई अहमद नगरबाट एउटा जरुरी खबर आयो । खबरमा उनीसँग तत्काल सैन्य सहयोग मागिएको थियो । मुगल राजकुमार मुराद अहमद नगर कब्जा गर्न सेना लिएर अघि बढिरहेका थिए । त्यसताका चाँद बीबीको उमेर ४८ वर्षको थियो । र, उनको स्वास्थ्य पनि राम्रो थिएन । तापनि उनले आफ्नो पैतृक राज्य मुगलहरुबाट बचाउने निश्चय गरिन् ।
मुगलहरुले सोचेका थिए कि अहमद नगर एउटा पाकेको आँपझैं उनीहरुको पोल्टामा आएर सजिलै खस्ने छ । तर, युद्ध सुरु भएपछि उनीहरुले महशुस गरे,- चाँद बीबी र उनका सैनिकलाई हराउन सहज छैन ।
निरन्तर चार महिनासम्म अहमद नगरको किल्ला भत्काउने मुगलहरुको प्रयासलाई चाँद बीबी र उनका सैनिकहरुले असफल बनाए । एक रात शत्रुले प्रहार गरेको गोलाबारुदले किल्लाको एकातिरको पर्खाल नै भत्कियो । चाँद बीबी नाङ्गै खुट्टा हातमा तरबार लिएर बाहिर गइन् र उज्यालो भुँइमा खुस्नु अगावै आफ्ना सैनिकहरुको मद्दतमा पर्खाल पनः निर्माण गराइन् । अन्ततः मुगलहरु हार स्वीकारेर शान्ति सम्झौतामा हस्ताक्षर गर्न राजी भए । त्यसपछि मुगल राजकुमार मुराद चाँद बीबीको बहादुरीबाट यति प्रभावित भए कि उनले चाँद बीबीलाई 'चाँद सुल्तान' को पदवी नै दिए ।
तर, अहमद नगर दरबारका केही मान्छे मुगलहरुसँग गरिएको सम्झौताको विरोधमा थिए । र, उनीहरुले मुगलहरुसँग पुनः दुश्मनी बढाए । 
सन् १५९९ मा मुगलहरु दोस्रो पटक अहमद नगरमाथि कब्जा जमाउने ध्येयले अघि बढे । यो पटक उनीहरुसँग पहिलेको तुलनामा अधिक शक्तिशाली र धेरै सेना थियो । चाँद बीबीले तत्काल महशुस गरिन् कि यस पटक मुगलहरुलाई हराउन सहज छैन । त्यसैले उनी शान्ति सम्झौता गर्न चाहन्थिन् । तर, उनका विरोधीहरु कुनै पनि हालतमा सम्झौता गर्न चाहदैन थिए । त्यसकारण चाँद बीबीलाई उनीहरु 'आफ्नो बाटोको काँडा' ठान्न थाले । र, उनीहरुले एउटा षड्यन्त्र रचेर चाँद बीबीको हत्या गरिदिए ।
यसरी एउटी बहादुर र सहासी रानीको अन्त्य धोकापूर्ण तरिकाले हत्या गरेर भयो ।
तर, यसको सजाय पनि हत्याराहरुले तत्क्ाल नै पाए । मुगलहरुले एकदम सजिलोसँग अहमद नगरको किल्लाहरुमा कब्जा जमाए । र, अहमद नगर राज्य केही वर्षमै मुगल साम्राज्यको अभिन्न अंग बन्न पुग्यो । चाँद बीबीको वीरता र सहासका अहिले पनि लोकजीवनका हरेक पाटाहरुमा बाचेको छ । उनी अहिले पनि लोककथा र किवंदन्तीहरुमा समेत एक वीरङ्गनाको रुपमा जिवित छिन् ।

No comments:

Post a Comment