गत वर्ष असोज अठार गते श्री ५ बाट चालिबक्सेको कदमको धङ्धङी नेपाली राजनीतिलाई अझ छोडेको छैन । त्यसताका तत्काल कुनै पनि राजनीतिक दलले ठोस प्रतिक्रिया नजनाए पनि सरकार-माओवादीबीच युद्धविराम भएपछि राजनीतिक दलहरुमा पनि प्राण पलायो र झिनो स्वरमा विरोध गर्न थाले । त्यसले अझै पनि निरन्तरता पाइनै रहेको छ । तर, 'आन्दोलन' नामको त्यो झिनो स्वरले जनताका चाहना र आवश्यकता मुखरित गर्न नसकेको भने स्पष्ट छ ।
कुनै समय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भनिएका ती राजनीतिक दलहरु अहिले आन्दोलनका नाममा सडकमा विभिन्न खाले नाटक मञ्चन गरिनै रहेका छन् । विगतमा प्रतिनिधिसभा जिवित रहेको अवस्थामा संसदमै निधाउने र बिउँझिए टेबुलकुर्सीर् र माइकनै भाँच्ने तर आफ्नो स्वार्थ पूरा हुने भए रातको १२ बजेसम्म पनि नसुत्ने ती 'माननीय' हरु अहिले प्रतिनिधिसभाको हत्या आफैबाट भएपछि सडकलाई नै प्रतिनिधिसभा र राष्ट्रियसभा घोषणा गर्दै अनेक नौटंकी गरिरहेका छन् । तर, यसको ठोस उद्देश्य जनतालाई अधिकार सम्पन्न बनाउने र सुखी बनाउन होइन भन्ने चैं बिस्तारै स्पष्ट हुँदै गएको छ । किनभने, आन्दोलन गरिरहेका भनिएका दलका नेताहरु पद पाइने भयो भने अझै जे गर्न पनि तयार हुने गरेका छन् । उनीहरुलाई एकएक वटा 'कमाऊ' पद दिने हो भने निमेषमै उनीहरु जनअधिकार र जनहितका कुरा छोड्न तयार छन् भन्ने कुरा यसबीचका केही घट्नाक्रमले देखाइसकेको छ ।
यहाँ अहिले सबैले स्वीकारेको तीन राजनीतिक शक्ति छन् । राजनीतिक पण्डितहरुका अनुसार त्यसमा राजसंस्था, नेकपा -माओवादी) र संसदवादी भनिने राजनीतिक दलहरु पर्दछन् । यी तीन वटा अहिले आ-आफ्नै स्वार्थ र षड्यन्त्रमा लिन छन् । दरबार आफ्नो शक्ति विस्तारको सपना देखिरहेको छ, माओवादी सकभर पूर्ण नभएपनि आंशिक रुपमा सत्ता हत्याउने दाऊमा छ भने संसदवादीहरु पद हत्याएर आफूलाई सुरक्षित पार्न खोजिरहेका छन् । यस अर्थमा हेर्ने हो भने यहाँ देश र जनताका लागि कोही पनि देखिदैन । त्यसैले पनि यी तीनबीचको राजनीतिक क्षितिजमा समझदारीको दूरी नजिकिन सकेको छैन ।
यी त नेपाली भू-राजनीतिक शक्ति मात्र हुन् । यहाँ यसका बावजुद पनि अमूर्त शक्तिहरु छन् । त्यस अर्थमा भन्ने हो भने यहाँका शक्तिहरु अपवादबाहेक तिनकै लाचार छायाँ मात्र हुन् । त्यसैले नेपालको राजनीति न त नेपालको हितमा हुन सकेको छ न त नेपालीको हितमा नै । तर, अब वाग्मतीमा धेरै पानी बगिसकेको छ । जनताको चेतन क्षमता पनि हिजोकै स्तरमा छैन । त्यसैले अब नेपालीले नेपालीका लागि काम गर्नुपर्ने दिन आएको छ । यदि त्यसो नहुने हो भने राजनीतिक सन्तुलनमा पनि परिवर्तन आउन सक्छ । अहिलेको भू-राजनीतिक यथार्थ सधैका लागि हो भन्ने भ्रममा कोही नपरे पनि हुन्छ । आजको शक्ति सन्तुलनले भोलि अर्के मोड लिन पनि सक्छ । त्यतिबेला अहिलेका शक्तिहरु इतिहासका पानाहरुमा खोज्नुपर्ने पनि बन्न सक्छ । त्यसैले यदि त्यो अवस्था आउन नदिने हो भने अहिलेको भू-राजनीतिक यथार्थलाई आत्मसात गरेर त्यो जनहितमा प्रयोग गर्नु सक्नु पर्दछ । त्यसका लागि सबैले 'मेरो गोरुको बाह्रै टक्का' भन्न छोडेर सहमति र समझदारीको मार्ग अख्तियार गर्न सक्नुपर्दछ ।
आज देश र जनताले गरेको अपेक्षा पनि त्यही हो । यतिखेर जनताले ठूलो कुरा मागिरहेका छैनन् । अहिलेको तत्कालीक माग भनेको राजनीतिक स्थिरता मात्रै हो । त्यो माग पूरा गर्न मैदानमा देखिएका शक्तिहरु अग्रसर हुनु जरुरी छ ।
यदि त्यसो हुन सकेन भने राजनीतिले मार्ग बदल्न पनि सक्छ । इतिहासमा यस्तो धेरैपल्ट भइसकेको छ । इतिहासमा हरेक पटकको राजनीतिक अस्थिरताबाट तानाशाहहरुको जन्म हुने गरेको सबै सामू स्पष्ट छ । यदि यो राजनीतिक अस्थिरतालाई पनि समय छँदै एउटा किनार नलगाउने हो भने यहाँ पनि त्यही दोहोरिन सक्छ, जुन पटकपटक हुँदै आएको छ । त्यसो भयो भने अहिलेको शक्ति सन्तुलन कहाँ पुग्न सबैलाई थाहा छ ।
त्यसैले देशलाई ती सबै अप्ठ्याराहरुबाट बचाउन सबैको सहमति र समझदारीमा एउटा ठोस निकास दिनु जरुरी छ । त्यसका लागि अहिले भइरहेका सबै नाटकहरु तत्काल बन्द गरिनुपर्दछ ।
दिनेश
उजागर मासिक
वर्ष ४, अङ्क ४, साउन-२०६०
No comments:
Post a Comment