दिनेश बस्नेत
नेपालमा वृद्धवृद्धाहरूको जनसंख्या जसरी निरन्तर बढेर गएको छ त्यसरी नै उनीहरूप्रति सामाजिक उपेक्षा पनि बढेर गएको छ । 'आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको' भन्ने नेपाली उखान 'पाकेको धानमा के पानी लाउने' भन्नेमा परिणत हुँदै गएको छ । यसले गर्दा देशका पाका नागरिकहरू एकांकी जीवन जिउन बाध्य छन् ।
वि.स. २०४८ को जनगणनाअनुसार नेपालमा ६० वर्ष उमेर पार गरेकाहरूको संख्या १० लाख ७१ हजार २ सय ३४ थियो भने २०५८ मा यो संख्या १४ लाख ७७ हजार ३ सय ७९ पुगेको छ । नेपालमा ६० वर्षमाथिकाहरूको जनसंख्या वृद्धिदर सन् १९५२ मा ५ प्रतिशत, १९६१ मा ५.२ प्रतिशत १९७१ मा ५.४ प्रतिशत, १९८१ मा ५.४ प्रतिशत र १९९१ मा ५.८ प्रतिशत देखिन्छ । सन् १९९१ मा ५ लाख २८ हजार ४ सय ९६ जना महिला र ५ लाख ४२ हजार ७ सय ३४ पुरुष रहेकोमा जनगणना २०५८ मा आइपुग्दा यो संख्या बढेर ७ लाख ४४ हजार ८ सय ४० पुरुष र ७ लाख ३२ हजार ५ सय ३९ महिला पुगेको छ । नेपालको सबै उमेर समूहमध्ये यही एक मात्र समूह हो जसको संख्या वर्षेनी निरन्तर बढिरहेको छ ।
संयुक्त राष्ट्र संघको एक अध्ययनअनुसार सन् १९५० मा विश्वमा ६० वर्ष उमेर पुगेकाहरूको संख्या २० करोड थियो । त्यसको २५ वर्षपछि अर्थात सन् १९७५ सम्म आइपुग्दा त्यो संख्या बढेर ३५ करोडमा पुगेको थियो । र, अहिले त्यो संख्या ५९ करोडभन्दा माथि पुगेको अनुमान छ । यसको ५० प्रतिशतभन्दा ठूलो भार विकासशील राष्ट्रहरूमा परेको समेत अध्ययनले देखाएको छ ।
मान्छे कति वर्षको भएपछि बुढो हुन्छ भन्नेबारे एकमत पाइँदैन । सार्क राष्ट्रहरूमै पनि यसको फरक-फरक मापदण्ड छ । भूटानमा ५८ वर्ष नाघेपछि वृद्ध मान्ने चलन छ भने पाकिस्तानमा ६०, श्रीलंकामा ५५, बंगलादेशमा ५८, भारतमा ६० र माल्दिभ्समा ६५ वर्षलाई वृद्धावस्था मान्ने गरेको देखिन्छ ।
तर, नेपालमा श्री ५ को सरकारले ५८ वर्ष पुगेपछि कर्मचारीहरूलाई अनिवार्य अवकाश दिने गरेको छ । त्रिविवि, जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतका न्यायाधीशहरूले ६५ वर्षमा अवकाश लिने गरेका छन् ।
राष्ट्र संघले पनि ६० वर्ष पुगेकाहरूलाई वृद्ध मानेको छ भने नेपालमा अन्तर्राष्ट्रिय वृद्ध वर्ष १९९९ मनाउन गठित मूल समितिले त्यसैलाई अनुमोदन गरेको आधारमा ६० वर्ष नै मान्नुपर्ने हुन्छ । समानताको हकसम्बन्धी नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ को प्रतिबन्धात्मक वाक्यांशमा महिला, बालक, वृद्ध, आर्थिक-सामाजिक वा शैक्षिक रुपले पिछडिएका वर्ग आदिको संरक्षण र विकासका लागि छट्टै कानुनी व्यवस्था गरिने उल्लेख छ । तर, त्यससम्बन्धी कानुन अझै बन्न सकेको छैन । त्यस्तै धारा २६ को उपधारा ९ मा राज्यले अनाथ बालबालिका, महिला वृद्ध र आशक्तहरूका लागि संरक्षण र विकासका लगि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने उल्लेख छ ।
मुलुकी ऐनको अंशवण्डासम्बन्धी महलमा वृद्धवृद्धाहरूका लागि बाबुआमा, छोराहरूको अंशबण्डा गर्दा बाबुआमा कुनै छोरा वा छोरीसँग बस्न चाहेमा सो कुरा बण्डापत्रमा नै खुलाउनपनर्ेे र त्यस्तो छोरा वा छोरीले आमाबाबुलाई सँगै राखी हेरचाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
मान्छे बुढो हुनु भनेको कपाल पाक्नु, कुप्रो हुनु र मांशपेशीहरू चाउरिनु मात्र होइन ज्ञान, सीप र दक्षताले पनि परिपक्व हुनु हो । उनीहरूको अनुभव र ज्ञानले परिवार, समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याउन सक्छ । हजुरबा हजुरआमाले बालबालिकालाई राति सुत्ने बेला वा अन्य बेलामा सुनाउने रोमाञ्चक, साहसिक र प्रेरणादायी लोक र नीति कथाहरूले बाल मनोविज्ञानमा राम्रो छाप छोड्ने गर्दछ । जुन लोक र नीति कथाहरूको छापले पछि युवा अवस्थामा समेत प्रेरणाको काम गरिरहेको हुन्छ । तर, आधुनिक विज्ञानले टेलिभिजन जस्ता मनोरञ्जनका साधन उत्पादन गरेर बाल र वृद्धहरूलाई एक अर्काबाट टाढा बनाइ दिएको छ ।
त्यसैपनि वृद्धावस्थामा हातखुट्टा काँम्ने, निन्द्रा नलाग्ने र एक्लोपन बढ्दै जाने हुन्छ । यस्तो अवस्थामा उनीहरूलाई साथीको आवश्यकता पर्दछ । त्यो साथीको आवश्यकता उनीहरू बालबालिकाबाट पूरा गर्न सक्दथे तर यस अर्थमा टेलिभिजनजस्ता सामग्री वृद्धाहरूका लागि शत्रु नै भएका छन् ।
वृद्धवृद्धाहरू आफूले सँगालेका अनुभवहरू अरुलाई बाँड्न चाहन्छन् । तर, त्यो वातावरण उनीहरूले पाउन सकेका छैनन् । छोराबुहारीहरू कामको सिलसिलामा बाहिर जानु बाध्यता भइसकेको छ । वृद्धवृद्धाहरू सधै परिवारको दोस्रो प्राथमिकतामा हुन पुग्छन् । सामान्यतः परिवारका सबै सदस्य आ-आफ्नो कार्यमा जुट्नु पर्ने भएकाले उनीहरूको स्याहार गर्न गाह्रो हुन्छ । यसलाई उनीहरू हेलाँ र उपेक्षा गरेका ठान्न पुग्छन् । र, यसैका कारण कतिपय अवस्थामा परिवारमा द्वन्द सिर्जना हुन पुग्दछ । जसलाई परिवारको अन्य सदस्यले 'गोरु बुढो भएपछि भीर खोज्छ, मान्छे बुढो भएपछि निहुँ खोज्छ' रुपमा बुझ्न पुग्छन । यसले परिवारमा वृद्ध र परिवारका अन्य सदस्यहरूबीच दूरी बढाइदिन्छ । यसबाट वृद्धवृद्धाहरू आफूलाई झन एक्लो महशुस गर्दछन् । यसै अवस्थामा उनीहरू समाजबाट पनि तिरस्कृत भएको महशुस गर्न पुग्दछन् । यसको कारण भनेको समाज परिवर्तनसँगै आफूलाई परिवर्तन गराउन नसक्नु पनि हो ।
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सरकार ७५ वर्ष पुगेका वा सोभन्दा माथिका समाजका ज्येष्ठ नागरिकलाईर् मासिक रु १५० र ६० वर्ष उमेर पुगेका जीवन धान्न सक्ने आयस्रोत नभएका परिवारका सदस्यहरूबाट हेरचाह नभएका, आफ्नो नाममा कुनै पनि जग्गाजमिन तथा सम्पत्ति नभएका अपहेलित वा पतिको पेन्सन प्राप्त नगरेका विधवा महिलालाई मासिक रु. १ सय भत्ता दिने गरेको छ । स्थानीय विकास मन्त्रालयका अनुसार अहिले ७५ वर्ष नाघेका नागरिकहरूको संख्या १ लाख ७३ हजार ८ सय ३४ रहेको छ । यसबाहेक सरकारले काठमाडौंको पशुपतिमा एक वृद्धाश्रमको व्यवस्था गरेको छ । यो वृद्धाश्रममा १ सय ८० जना वृद्धवृद्धाहरू अटाउने क्षमता छ । यसका अलाव बटवल, वीरगञ्ज, देवघाट, धनकुटा, विराटनगर र राजविराजमा पनि वृद्धाश्रम स्थापना भएका छन् । तर, ती सबमा ५ सय वृद्धवृद्धा पनि अटाउन गाह्रो पर्छ ।
अकाल मृत्यु भएन भने एक समय सबै वृद्ध हुन्छन् । अन्यत्र ६० वर्षलाई वृद्धावस्था भनेपनि नेपाल जस्तो विकासशील मुलुकका नागरिकहरू ४० ननाघ्दै बुढो देखिने गरेका छन् । सामान्यतः वृद्धावस्थाले कमजोर र रोगी बनाउँछ । तर, धनीमानीको तुलनामा गरीब समुदाय वा परिवारका वृद्धहरूको जीवन कष्टकर र दयनीय अवस्थामा रहेको देखिन्छ । अझ कतिपय परिवारले वृद्धवृद्धाहरूलाई वृद्धाश्रममा लगेर छोड्ने समेत गरेका छन् । तसर्थ, पहिले त वृद्धवृद्धालाई परिवारले नै उनीहरू अनुकल वातावरण बनाउनुपर्छ । उनीहरूलाई एक्लोपनबाट मुक्त गर्न बालबालिकालाई उनीहरूसँग बस्न र खेल्न प्रेरित गर्नु पनि आवश्यक देखिन्छ ।
वृद्धवृद्धाहरूलाई आदर सम्मान गर्ने संस्कार बसाल्ने र उनीहरूसँग भएको ज्ञान र सीप नयाँ पुस्ताले सिक्ने वातावरण बनाउन सके समाज र राष्ट्रले समेत महत्वपूर्ण लाभ लिनसक्छ । अहिले सरकारले ७५ वर्ष नाघेकाहरूलाई मात्र वृद्धभत्ता दिने गरेको छ । त्यसलाई ६० वर्षमा झार्न सके धेरै वृद्धहरू लाभान्वित हुनेछन् । वृद्धहरूको स्वास्थ्य जाँच निःशुल्क र अनिवार्य गर्नु आवश्यक भइसकेको छ ।
No comments:
Post a Comment