देशमा सरकार-माओवादीबीच जारी युद्धविराम कायम छ । दुवै पक्षले मान्ने सहमतिमा जारी गरिएको आचारसंहिता छ । लामै प्रतिक्षापछि नै सही सरकार-माओवादीबीच तेस्रो चरणको वार्ता पनि जारी छ । तर, पनि यो रक्तपात, हिंसा र हत्याको सिलसिला किन रोकिदैन ? अहिले मुलुकमा युद्धविराम भएको अनुभुति जनताले किन पाउन सकिरहेका छैनन् ?
देशले खोजेको शान्ति हो । देशले खोजेको विकास र उन्नति हो । तर, मुर्दा शान्ति र व्यक्ति विकास पनि होइन । त्यसैको परिणतिस्वरुप विगत साढे सात वर्षभन्दा लामो समयदेखि नेपाली जनताले गुमाउनुबाहेक केही परेन । कसैले आमा गुमाए, कसैले बाबु गुमाए, कसैले अभिभावक गुमाए, कसैको सिन्दुर पछियो/चुरा फुट्यो । कसैले के गुमाए, कसैले के गुमाए । केही नहुनेले पनि चैन गुमायो । दुई पक्षबीचको चेपुवामा परेर सबै आहत् भए । र, त्यसबाट सरकार पनि अछुतो रहन सकेन । सरकार पनि चुनाव गराउन नसक्ने भयो । पूर्ण रुपमा देशभर शासन संचालन गर्न असमर्थ भयो । उता माओवादीले पनि सरकारलाई पूर्णतः हराएर जित्न नसक्ने भयो । त्यसैले चाहियो वार्ता, त्यसैले चाहिलो युद्धविराम । त्यसैले चाहियो आचारसंहिता । त्यसैले चाहियो समझदारी । तर, वार्ता, बन्दुक र समझदारी एक साथ कसरी जानसक्छ ? युद्धविरामपछि पनि मान्छे मारिने क्रम जारी छ । अपहरण/गिरफ्तारी जारी छ । धरपकड जारी छ । खानतलासी जारी छ । आरोप/प्रत्यारोप जारी छ ।
फरक यत्ति हो कि तुलनात्मक रुपमा मर्ने र मार्ने क्रममा केही कमी आएको छ । के वार्ता, युद्धविराम र आचारसंहिता भनेको यही हो ? सरकार माओवादीले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँछ । माओवादी सरकारले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँछ । र, दुवै पक्ष हत्या प्रतिहत्यामा उत्रन्छन भने कहाँ, किन र कसरी वार्ता भइरहेको छ भनेर विश्वास गर्ने ? कसरी यसप्रकारको वार्तामा समझदारी हुन्छ र दिगो शान्तिका लागि मार्ग प्रशस्त हुन्छ भनेर विश्वास गर्ने ? कुन कुनामा छ सरकारी र माओवादी पक्षको मनमा शान्तिको लागि प्रदर्शन गरिने इमान्दारिता ?
लाग्छ, सरकार र माओवादी दुवै पक्ष बन्दुकको बलमा टिकेका छन् । बन्दुक अन्धो हुन्छ । कुनै समय शेरबहादुर देउवाले पनि स्वीकारेको कुरा बन्दुकको आँखा हुँदैन । त्यसैले उनले धेरैको हत्या गरे । अझ त्यति मात्र होइन, बन्दुकको मन पनि हुँदैन । त्यसले मानवीय समस्या र सम्वेदना पनि बुझ्दैन । बन्दुकको कुनै भाषा हुँदैन । उसँग हुन्छ त क्रुरता । उसका लागि पि्रय हत्या हुन्छ, हिंसा हुन्छ, आतङ्क हुन्छ । उसलाई मृत्यु पि्रय हुन्छ । त्यसैले सबैलाई थाहा छ । त्यसलाई आफ्नो साध्य ठान्नेहरु पनि त्यही बन्दुकजस्तै मात्र हुन्छन् । मात्र बन्दुकजस्तै । के सरकार-माओवादी त्यही हुन् ? होइनन् भने त्यसलाई पुष्टि गर्ने खालको चरित्र प्रदर्शन गर्न किन सकिरहेका छैनन् त ?
अहिले आम नेपालीको चाहना शान्ति, विकास र समुन्नति हो । यसैबाट मात्र राष्ट्रले एउटा निश्चित मार्ग लिन सक्छ । यसैबाट मात्र देश र जनताको उन्नति हुन सक्छ । यही आकाङ्क्षामा नेपालीहरुले सदियौ विताएका छन् । हरेक दशकमा एउटा न एउटा असैह्य पीडा सहँदै आएका छन् । एउटा सुनौलो नेपाल हेर्नका लागि हरेक दशक, हरेक अर्धदशकमा प्रशव पीडा झेलेका छन् । तर, हरेक प्रशव पीडा व्यर्थ जाने गरेको छ । हरेक प्रशवबाट कि त रावणले जन्म लिएको छ कि त कङशहरुले नै । त्यसैले यो सात वर्षभन्दा लामो प्रशव पीडाबाट सुदूर क्षितिजमा देखिने सुनौलो र सुन्दर नेपाल जन्मनुपर्छ । तर, त्यो अवस्था बिथोलिदै गएको भान हुँदैछ । पातालिदै गएको सुदूर क्षितिजको बादल पुनः बाक्लिदै गएको छ । त्यसैले यसलाई रोक्न सरकार-माओवादी दुवै पक्षले इमान्दार भएर लाग्नैपर्छ । सुन्दर र सुनौलो नेपाल निर्माणका लागि दुवै पक्षले आ-आफ्नो हठ त्यग्नैपर्छ ।
यदि होइन, आ-आफ्नै हठमा 'मेरो गोरुको बाह्रै टक्का' गरेर बस्ने हो भने भोलि दुवै पक्षले त्यो अवसर गुमाउने छन् । र, पहलकदमी अर्कैले लिनेछ । धेरै खान खोज्दा भाग पनि नपाउने अवस्था आउन सक्नेछ । त्यसैले आफ्नै घरमा आगो सल्काएर आगो ताप्ने काम बन्द हुनुपर्छ । यही आजको पहिलो र अन्तिम आवश्यकता हो । यसबाट जो चुक्यो त्यो इतिहासको पानामा थन्कने निश्चित छ । आजका आफूलाई जल्दाबल्दा शक्ति भन्न रुचाउनेहरुले बेलैमा सोचून् । अन्यथा, भीरमा जाने गोरुलाई राम-राम भन्न सकिन्छ काँध थाप्न कस्ले सक्छ र !
दिनेश
उजागर मासिक
वर्ष ४, अङ्क २, असार-२०६०
No comments:
Post a Comment