प्रेमबहादुर कुसुण्डा (वनराजा) ले पच्चीस-तीस वर्षको जवानी आफ्ना बाबु, दाजुभाइ र अन्य कुसुण्डाहरुसँग जंगलमै बिताए । बाबु, दाजुभाइ र अन्य कुसुण्डाहरुको मृत्युपछि जब उमेर ढल्कियो तब जंगलबाहिरको समाजमा आएर घरजम गरे । अहिले उनी ६२ वर्षको वृद्ध शरिर लिएर परिवारसहित दाङ जिल्लाको त्रिभुवननगर नगरपालिकामा बसोबास गरिरहेका छन् । तर, उनको आफ्नो भन्ने एक इञ्च पनि जग्गा छैन । अरुकैमा ज्यालादारी गरेर उनी जिविका चलाइरहेका छन् ।
मानवभाषाविद् वि.के रानामगरले तनहुँबाट राजामामा नामका कुसुण्डा खोजी गरेर ल्याएपछि मात्र चर्चामा आएको यो जाति हाल देशभरमा २/३ सयको संख्यामा रहेको हुन सक्ने अनुमान गरिएको छ । जनगणना २०५८ ले कुसुण्डाहरुको संख्या १ सय ६४ देखाएको छ । नेपालको जनसंख्या वितरणमा सबैभन्दा कम जनसंख्या रहेको जाति यही हो । यसअघि यो जाति कुनै जनगणनामा देखिएको थिएन । अझ खोजी गर्दै जाने हो भने यो संख्या बढ्न सक्ने मानवशास्त्रीहरु बताउँछन् । तर, यस विषयमा रानामगरको तर्क फरक छ, उहाँका अनुसार अहिले देखिएको संख्या 'ठिमाहा' हरुको हो ।
आफ्नो छुट्टै मौलिक परम्परा बोकेका कुसुण्डाहरु विषेशगरी दाङ, प्युठान, तनहुँ, गोर्खा, पाल्पा, रोल्पा, चितवनलगायतका जिल्लामा एक दुई परिवार रहेको बताइएको छ ।
प्रेमबहादुर कुुसुण्डाका अनुसार पहिले कुसुण्डाहरुको ठूलै संख्या थियो । पछि उनीहरुको समूह छुट्टदिै जाने क्रममा धेरै जसो पश्चिम कालीपार - स्याङ्जा, तनहुँ पाल्पा) तिर गएका थिए । सधै एकै ठाउँमा नबस्ने कुसुण्डाहरु कुनै ठाउँमा केही समय बस्नै परेपनि आफ्नो झाँक्रीलाई माटो हेराएर मात्रै बस्दथे । यदि झँक्रीले त्यो स्थान उपयुक्त छैन, बस्यो भने रोग लाग्छ, विरामी भइन्छ वा मान्छे नै पनि मर्न सक्छ भन्यो भने त्यहाँ एक रात पनि नबस्ने गरेको कुरा प्रेमबहादुर बताउँछन् । झाँक्रीले ठाउँ उपयुक्त छ भनेको खण्डमा भने पाए ओडार नपाए सेउलाले बारेको गोलो छानो भएको घर बनाएर एकदुई महिनासम्म बस्ने गर्दथे ।
खुर भएको जनावरको मासु नखाने कुसुण्डाहरु दूध, दही र महीदेखि टाढै बस्थे । कुसुण्डाहरु नङ्ग्रा भएको पशुपंक्षीको मासु मात्र खाने गर्दथे । प्रेमबहादुरका अनुसार गोबर छुनुलाई उनीहरु पापकर्म ठान्दथे । उनीहरुको खान्की भनेको जंगली कन्दमुल र मलसाँप्रो, गोहोरो, लोखर्के, कालीजहरु नै हुन्थे । तर, अहिले त्यो सबै लोप भइसकेको छ । प्रेमबहादुर भन्छन-''अहिले त गोबर नछुने र गोरु नजोत्ने हो भने मुखमा माड लाग्दैन ।''
जंगलमा घुम्दाफिर्दा उनीहरुको आफ्नै भाषा, धर्म संस्कृति थियो । कुसुण्डाहरुको खाम भाषा मगरसँग मिल्दोजुल्दो रहेको भाषाशास्त्रीहरु बताउछन् । अहिले उनीहरुको भाषा लोप भइसकेको छ । मानवभाषाविद् वि.के. रानामगरका अनुसार नेपालमा कुसुण्डा भाषा धाराप्रवाह रुपमा बोल्ने जम्मा तीन जना मात्र छन् । अरुले बोल्ने भाषा शुद्ध कुसुुण्डा भाषा होइन । अस्ट्रेलियन मानवशास्त्री रेनहार्डले कुसुण्डा भाषाका सैयौ शब्दहरु १९७० तिरै संग्रह गरेर प्रकाशमै ल्याउनु भएको थियो । त्यसैको आधारमा जापानी भाषाशास्त्री सुयोतोसी तोवाले पनि कुसुण्डाहरुको भाषाबारे अध्ययन गर्नुभएको थियो । मानवशास्त्री जोहन रेनहार्डले गर्नु भएकै अध्ययनका आधारमा तोवाले पनि कुसुण्डाहरुको भाषाको अध्ययन गर्नुभएको थियो । उहाँका अनुसार कुसुण्डाहरुको भाषा मध्य एसियाको पामिर क्षेत्रमा बोलिने वुरुसास्की भाषासँग मिल्दोजुल्दो छ भने कुसुण्डाहरुको अनुहार द्रविडियनहरुसँग ।
भाषाविद् वि.के. रानामगरका अनुसार कुसुण्डा भाषाका २९ वटा शब्द मात्र पहिचान भएका छन् । तनहुँमा भेट्टएिका राजामामाले समेत आफ्नो भाषा धेरैजासो विर्सिसकेका छन् । हालसम्म भेटिएका कुसुण्डाहरुमा भाषाको ज्ञान भएका दाङका प्रेमबहादुर, तनहुँका राजामामा र अर्का एक जना मात्र छन् । दाङका प्रेमबहादुरलाई ३६ प्रतिशत कुसुण्डा भाषाको ज्ञान छ भने राजामामासँग त्यो भन्दा बढी रहेको पाइएको छ ।
तर, हाल आएर कुसुण्डाहरुको भाषा मात्र नभएर धर्म-संस्कृति सबै लोप भइसकेको छ । उनीहरु माघेसंक्रान्तिलाई विशेष चाडका रुपमा मनाउथे । तर, अहिले अन्य जातिको सम्पर्कमा आएपछि दशैं-तिहारजस्ता चाडहरु नै मनाउन थालिसकेका छन् ।
कुसुण्डाहरु आफूलाई कुशको सन्तान भन्न रुचाउछन् । प्रेमबहादुरका अनुसार राम र सिताको देहान्त भएपछि दुई भाइ छोराहरुमध्ये लवले रामको राज्य सम्हालेर बसे । तर, कुशले राज्य नपाएपछि उनी वन पसेर वनकै राजा बने । कालान्तरमा कुशका सन्तानहरुलाई कुसुण्डा भन्न थालियो । वनका राजा भएको नाताले नै आफ्ना पूर्खाहरुले वनमा बस्ने अन्य जातिसँग कर समेत उठाएर खाने गरेको प्रेमबहादुर बताउछन् ।
प्रेमबहादुर कुसुण्डालाई अहिले आफ्नो जाति लोप भएको राम्रैसँग थाहा छ । उनी आफै पनि कुसुण्डाबाट वनराजा भइसकेका छन् । अहिले उनलाई आफ्नो जाति लोप भएकोमा ठूलो चिन्ता छ । उनी भन्छन्-''कुसुण्डाहरु अझै खोज्ने हो भने पत्ता लाग्न सक्छन् । हाम्रो जातिको रक्षाका लागि सरकारले खोजी गरिदिनु पर्यो । हाम्रो आफ्नै भाषा छ त्यसलाई कसरी हुन्छ जिवित राख्नलाई मद्दत गर्नु पर्यो । ''
उनीसँगै कृष्णबहादुर, तिलबहादुर, धनबहादुर, शालिकराम कुसुण्डा -वनराजा) पनि यसै गाउँमा छन् । रानामगरका अनुसार दाङमा मात्रै कुसुण्डाहरुको ९ घर छन् । तर, समाजमा बढ्दै गएको अन्तरजातीय विवाहका कारण कुसुण्डाहरु संकटमा परेका छन् । अरु केही वर्ष यही अवस्था रहने हो भने यो जाति पूर्णतः लोप नै भएर जाने अवस्था छ । त्यसैले यो जातिको संरक्षणका लागि सरकारी र गैरसरकारी दुवै क्षेत्रले ध्यान दिनुपर्ने देखिन्छ ।
दिनेश बस्नेत
No comments:
Post a Comment