Monday, April 5, 2010

सबैलाई गिज्याइरहेछ रामेछापका खानीबिनाका खानी गाउँहरुले्

रामेछाप जिल्लाका उत्तरी भेकमा कुनै त्यस्तो गाउँ छैनन् जसको पछाडि 'खानी' शब्द नजोडिएको होस् । जस्तो ठोसेखानी, चुचुरेखानी, रस्नालुखानी, डडुवाखानी, सोत्रेनीखानी, सात्रेखानी, लाप्चानेखानी, हिलेखानी, पैरेखानी, झुलेखानी, बञ्चरेखानी, भित्तरीखानी, आख्रेनीखानी आदि ।

    त्यस भेकका करिब चार दर्जनभन्दा बढी गाउँहरुको नामको पछाडि 'खानी' शब्द जोडिएको छ । तर, त्यस क्षेत्रमा घर छाउने ढंगाकोबाहेक अन्य कुनै खानी हाल संचालनमा छैनन् । यो ढंुगाखानीकै आधारमा यसरी सबै गाउँको नाम 'खानी' भएको पनि होइन ।
    यस जिल्लाका ५५ गाउँ विकास समितिमध्ये करिब ३५ गाविसहरुमा रहेका तामा, फलाम, सिसा, अभ्रख, गन्धक, सिलाजित, कुरनिढुङ्गा, चुनढुङ्गा, म्याग्नेसाइट र स्लेटका खानीहरुको  अधाह भण्डार रहेको मानिन्छ । त्यसो त नेपालकै दोस्रो ठूलो फलामखानी ठोसेमा वि.स. १९२१ तिरबाटै संचालनमा रहेको पाकाहरु बताउछन् । त्यसको प्रमाण खानी संचालनतामा प्रयोग भएका औजारहरु यत्रतत्र छरिएको अवस्थामा अझै रहनुले पनि दिइरहेको छ । बुढापाकाहरुका अनुसार ठोसेमा संचालन भएको खानीका कारण पनि सबै गाउँको नाममा 'खानी' शब्द जोडिएको होइन । यसो हुनुमा यो भेकका सबै स्थानमा खानी हुनुले हो ।
त्यतिमात्र नभएर खानी संचालन गर्दाताका 'धाउ' पगाल्दा निस्किएको किटका थुप्राहरु पनि सर्वत्र देखिन्छन् । त्यहीँ किटका कारण हजारौं रोपनी खेतीयोग्य जमीन 'किटिनीडाँडा' मा परिणत भएका छन् । र, गाउँको नाममा 'खानी' जोडिएजस्तै बारीहरुको नामका अगाडि पनि 'किट' जोडिएर किटिनीडाँडा, किटिनी पाखा, किटिनी खोल्सा बन्न पुगेका छन् ।
    ७५ वषर्ीया वृद्ध दिलकुमारी कार्कीका अनुसार ठोसेबाट निकालिएको फलाम त्यहिं विभिन्न औजार निर्माण गर्नुका साथै नेपाल - काठमाडौं उपत्यकालाई बुढापाकाहरु नेपाल भन्ने गर्दछन्) र भोट -तिब्बत) लगिन्थ्यो । जानकार बुढापाकाहरु वि.सं.१९८५ भन्दा अगाडिसम्म रामेछापका विभिन्न स्थानहरुमा तामाखानी सञ्चालन गरी खानी सञ्चालन गर्नेले वर्षमा ६० धार्नी तामा दोलखा जिल्लाको लादुकमा लगेर सरकारलाई बुझाउनुपर्ने नियम रहेको बताउँछन् ।
वि.स.१९२१ ताका नेपाल-भोट लडाईका बेला तत्कालिन बृटिस सरकारले ठोसे फलाम खानी सञ्चालन गर्न सहयोग गरेको थियो । फलाम प्रशोधनका लागि आवश्यक उपकरणहरु कलकत्ताबाट ल्याएर सो खानी सञ्चालन गरएिको बताइन्छ । त्यसबेला विशेष गरी युद्धका लागि आवश्यक सामग्रीहरु बन्दुक, खुकुरी गल, छिनो, झाम्पाल, तीरजस्ता सामानहरु यहाँ तयार गरिने गरेको स्थानीय बुढापाकाहरु बताउँछन् । यही खानीाबट निकालिएको फलामबाट भरुवा बन्दुक निर्माण गर्नका लागि यहाँ बन्दुक कारखाना समेत खोलिएको थियो । तर, अहिले खानीसँगै बन्दुक कारखाना पनि बन्द भएको छ । र, खानी बन्दुक कारखानाको जग्गामा हाल शारदा मावि संचालन भइरहेको छ । यहाँको फलाम खानी र बन्दुक कारखाना  वि.सं.१९९३ देखि बन्द भएको पाकाहरु बताउछन् ।
अहिले बन्दुक कारखाना नभएपनि फलाम खानी संचालन हुनुपर्ने स्थानीयबासीहरुको माग छ । तर, नेपालकै दोस्रो ठूलो मानिएको यो खानी संचालन गर्नेतिर सरकारी सोच गएको देखिदैन ।
पहिला ढुङ्गाका छिनोको भरमा दियालोको बत्ती बालेर पुर्खाहरुले तामा, फलाम निकालेर उपयोग गर्ने गरेको तर हाल साधन श्रोत सम्पन्न हुंदा पनि यी खानीहरु सञ्चालनमा नल्याइदा देशको अर्थतन्त्र माथि उठ्न नसकेको धारणा पूर्व सांसद देवशंकर पौडेलको छ ।
ठोसेमा फलामखानी सञ्चालन भएका बेला त्यस क्षेत्र आसपासका २२ खानीबाट फलामको धाउ निकालिन्थ्यो । ती खानीबाट निकालिएको फलामबाट खिम्ती खोलामा बनाइएका फलाम साँघु -झोलुङ्गे पुल) हरु अहिलेसम्म प्रयोगमा छन् । ती पुलहरु पनि युद्धकै प्रयोगका लागि बनाइएको हुनसक्ने ठहर स्थानीयबासीहरुको छ ।
    त्यतिबेला स्थानीयस्तरमा प्रयोग हुने हरिया, खुकुरी फालीलगायतका सबै औजारहरु स्थानीय सीप र फलामबाट बन्थे । तर, अहिले जमाना अर्कै भएको छ । खानी संचालन हुँदा निस्केको किटिनीडाँडा खनजोत गर्न विदेशबाट ल्याइएको फलामका औजारहरु प्रयोग भइरहेका छन् । पूर्व सांसद देवशंकर पौडेल यसरी आफैमा फलामै-फलामको थुप्रोमा रहेका गाउँहरुमा हिस्दुस्तानी फलामले खनजोत गरेको देखेर पुर्खाका आत्मा रोइरहेको बताउनुहुन्छ ।
तामालाई ईश्वरको प्रतिक धातु मान्ने र पाउमा लागे विष्णु ! विष्णु !! भन्ने संस्कार बोकेका रामेछापबासीहरु तामाखानीमाथि घर बनाएर विदेशी तामाका बनिबनाउ पाताद्वारा निर्मित ताम्रपत्रमा छोरीको विवाहमा गोडा धुनु पर्ने बाध्यता लिएर बाँच्नु परेकोमा पूर्खाको स्वाभिमानले गिज्याइरहेको पौडेलको भनाइ छ ।
पौडेलका अनुसार पुर्खाले कुटोकोदालोकै भरमा संचालन गरेका खानीहरु अहिलेको आधुनिक प्रविधि प्रयोग गरेर चलाउन नसक्नु राज्यको कमजोरी हो ।
    नेपाली पाखुरा र पसिना सिलाङको कोइलाखानी र जयपुरको फलामखानीमा किचिएर मर्नु र बग्नु परिरहेको छ तर आफ्नै आँगनको अथाह सम्पदा प्रयोगमा आउन नसक्नु दुर्भाग्य हो ।
तर, खानी पुनः संचालनका लागि ताकेता नभएको पनि होइन । ठोसे गाविसका पूर्व उपाध्यक्ष महेश प्रधानका अनुसार हरेक पटकको गाउँ परिषदले खानी संचालन गर्न माग प्रस्ताव परित गरेर जिविसमा पठाउने गरेको छ । तर, त्यहाँबाट कुनै सुनुवाई भइरहेको छैन । त्यसो त जिल्ला परिषद्ले पनि माग प्रस्ताव राष्ट्रिय योजना आयोगमा पठाउने गरेको पूर्व उपसभापति रमेशकुमार बस्नेत पताउनुहुन्छ । तर, आयोगे सो प्रस्तावमाथि कुनै कारबाही गर्ने गरेको छैन ।
अहिले आएर युवा पुस्ताले त्यहाँ खानी छ र कुनै समय संचालन समेत भएको थियो भन्दा दन्त्यकथा झै मान्न थालिसकेका छन् । अझ गाउँहरुको नामबाट पनि 'खानी' शब्द हराउन थालेको छ । अहिले ठोसेखानी, चुचुरेखानी र रस्नालुखानी ठोसे, चुचुरे र रस्नालु गाविसको नामले चिनिन थलिसकेका छन् । यही क्रम रहने हो भने अरु गाउँको नामबाट पनि 'खानी' शब्द हराउने निश्चित छ ।
दिनेश बस्नेत

No comments:

Post a Comment