Wednesday, April 14, 2010

पत्रकार महासंघ काठमाडौंको विशेषता र महत्त्व

    सम्पूर्ण पत्रकारहरूको प्रतिनिधिमूलक पेशागत एक मात्र छाता संगठन नेपाल पत्रकार महासंघका सबै शाखाहरूमा चुनावी सरगर्मी सुरु भएको छ । त्यसमध्ये महासंघको ७१ भन्दा बढी शाखाहरूमध्ये सबैभन्दा ठूलो अर्थात मिनी केन्द्र भन्दा पनि फरक नपर्ने काठमाडौं शाखाको निर्वाचन यही पौष १७ गते राजधानीको प्रज्ञा भवनमा सम्पन्न हुंदैछ । त्यसैले पत्रकारहरूबीच चुनावी चर्चा, ध्रुवी प्रतिध्रुवीकरण, उम्मेदवारी घोषणा, तालमेल, चुनावी प्रचारप्रसारले गति लिंदै गएको छ । यो स्वाभाविक पनि हो । सबैभन्दा ठूलो शाखा भएकाले पनि काठमाडौं शाखाको चुनावले सधैं विशेष महत्व राख्ने गरेको छ । यो शाखाको नेतृत्व बरिष्ठ पत्रकारहरू किशोर नेपाल, तीर्थ कोइराला, पुष्प प्रधान, गोपाल बुढाथोकी, राजेन्द्र स्थापित, श्याम श्रेष्ठसमेतले गरिसक्नु भएको छ । अहिले पनि देशमा प्रतिष्ठित बरिष्ठ पत्रकारहरू यही शाखामा सदस्य रहनु भएको छ । त्यसले पनि यो शाखाको महत्व र गरिमा अलग हुनु स्वाभाविक हो । त्यसैले चुनावी सेरोफेरोमा यहां यिनै विषयहरू र शाखाकाबारेमा केही टिप्पणी गरौं,

काठमाडौं शाखाको अलग विशेषता
    नेपाल पत्रकार महासंघको केही जिल्ला छोडेर सबैमा आफ्नो शाखा छ । दैनिक पत्रिकाहरू, टेलिभिजन र रेडियोमा पनि शाखा छ । तर, ती सबै शाखा भन्दा यसको अलग विशेषता, महत्व र पहिचान छ । यसो भनेर अन्यको महत्व र विशेषता नै छैन भन्न खोजिएको किमार्थ होइन । तर, यसका पहिलो विशेषता भनेको सबैभन्दा ठुलो हुनु हो । यहां हजारको हाराहारीमा सदस्य संख्या छन् । अन्य दैनिक, रेडियो टेलिभिजनका पत्रकारहरू पनि यो शाखाका सदस्य छन् । त्यसैगरी यो शाखामा बढी पत्रकारहरू साप्ताहिक, पाक्षिक र मासिकका छन् । त्यसबाहेक स्वतन्त्र पत्रकारहरू पनि यसैमा समेटिएका छन् । यो पनि काठमाडौं शाखाको विशेषता हो । यसलाई अन्यथा नलिने हो भने साप्ताहिक पत्रिकाहरूको शाखा भन्दा पनि फरक पर्दैन । तर, सदस्य भने सबैतिरका छन् । अरु शाखामा त्यहां काम गरुन्जेल सदस्य रहन सकिन्छ तर काठमाडौंका सदस्यले हरेक वर्ष नवीकरण गरेपछि कुनै संस्थामा नरहे पनि रहन पाइन्छ । त्यसैले यो शाखाले बढी तिनै सदस्य र संस्थाहरूको हितमा सोच्नु आवश्यक छ र सोच्दै पनि आएको देखिन्छ ।
विगतको गौरवमय इतिहास र
वर्तमानको चुनौति
    समय एक्काइशौं सताव्दीमा छ । प्रविधिको विकास आश्चर्यजनक रुपमा भएको छ । हिजो लेटर प्रेसबाट सुरु भएको पत्रकारिता अहिले अफसेट हुंदै अनलाइनसम्म पुगिसेकेको छ । तर, अफसेट प्रविधिमा प्रवेश गरेपनि साना लगानीका पत्रिकाहरूको अफ्नै समस्याहरू छन् । केही वर्षअघिसम्म समाचार र विचारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका साप्ताहिकहरू महिले जीवन मरणको दोसांधमा छन् । त्यसमाथि प्रधानमन्त्री देउवालेसमेत त्यस्ता पत्रिकाहरू छिटै बन्द होस भन्ने शुभकामनासमेत दिइसक्नु भएको छ । यसलाई पनि साना लगानीका पत्रिकाहरूले ख्यालख्याल ठान्नु हुन्न । यि पत्रिकाहरू नेपाली पत्रकारिताको आत्मा हो । कसैले आत्मा मारेर शरीरले मात्र सबै काम गर्छ भन्ने ठान्छ भने त्यो दिवास्वाप्न मात्र हो र हुनेछ । त्यसमाथि नेपाली पत्रकारिताको इतिहासमा यिनै साना पत्रिकाहरूको महत्वपूर्ण योगदान थियो छ र रहनेछ । मुग्लिनमा 'भात पसल' जसले पनि खोल्न सक्छ । तर त्यहांबाट फाइदा नभएपछि र चल्न छोडेपछि त्यो 'भात पसले'ले अर्कै व्यापार गर्छ । फाइदाका लागि भएको ठुलो लगानी फइदा हुन छोडेको दिन बन्द पनि हुन सक्छ । तर, त्योभन्दा भिन्न सोचद्वारा संचालित संस्थाहरूमा त्यो क्रिया हुंदैन । त्यस अर्थमा पनि साना लगानीका पत्रिकाहरू बन्द होस वा निषेध गर्नुपर्छ भन्ने सोचाई गलत हो । त्यो संघर्षमा पनि काठमाडौं शाखाको भूमिका महत्वपूर्ण हुनु जरुरी थियो,  अहिले झन बढेको छ र अझ बढ्नु आवश्यक छ । तर, सानो लगानीका कतिपय पत्रिकाहरू राजधानीमै सीमित हुनुपर्ने बाध्यता छ । हिजो महेन्द्रनगरदेखि रोल्पा रुकम हुंदै इलामसम्म अर्थात पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म पुग्ने पत्रिका अहिले थानकोट काट्न नसक्ने अवस्थामा पुगेका छन् । त्यसैले पनि यि पत्रिका, त्यससंग सम्बन्धित व्यक्ति र संस्थाहरूले विगतको गौरवमय इतिहासलाई अब पनि जिवित र सशक्त बनाउन नयां सोच, नयां शैली, नयां विकल्प, नयां प्रविधिमा प्रवेश गर्नैपर्छ ।
    त्यसैगरी काठमाडौं शाखा र यससंग सम्बन्धित पत्रिकाहरू भनेको नयां प्रतिभाहरू जन्माउने कारखाना पनि हो । अहिले ठुलो लगानीको संस्थामा कार्यरत अधिकांश साथीहरू यिनैबाट त्यहां पुग्नु भएको देखिन्छ । अहिले पनि त्यो क्रम जारी छ । पत्रकारिता पढेर आएका र पढ्दै गरेका नयां साथीहरूका लागि साना लगानीका पत्रिकाहरू पहिलो खुडि्कलो बन्दै आएको छ । यहीबाट पत्रकारिता सिक्नेहरू पनि धेरै छन् । पत्रकारितामा टिक्न सक्ने र नसक्ने पनि यहीबाट छुट्टनिे गरेको छ । यहां आएर बुझेपछि कति साथीहरू पलायन हुनुभएको छ, कति पत्रकारितामा गर्नुपर्ने दुःख देखेर पेसा परिवर्तन गर्नुभएको छ भने कति संघर्ष गरेर स्थापित हुनुभएको छ । त्यसैले यि संस्थाहरू पत्रकार जन्माउने, हुर्काउने, गन्तव्य देखउने र नसक्नेलाई बाइबाइ गर्ने प्रथम मञ्चको रुपमा समेत परिचित छन् । त्यसैले साना लगानीका पत्रिका र ति पत्रिकाहरूका पत्रकारहरू बढी संगठित भएको संस्थाले तिनैको हितमा अझ बढी क्रियाशील हुनु जरुरी देखिन्छ । त्यसका लागि नयां विकल्प, नयां प्रयोग, नयां प्रतिभा र नयां प्रविधिहरूको उपयोग यथेष्ट रुपमा गर्नु आवश्यक छ । त्यसकार्यका लागि अग्रजहरूको साथ, सहयोग र निर्देशनमा नयां पुस्ता अघि बढ्नु अन्यथा हुनेछैन । यसले साना लगानीका पत्रिका, पत्रकार र पत्रकार महासंघलाई सघाउ नै पुर्‍याउनेछ ।
मेरो तीन वर्षे कार्यकाल र महासंघ
    म गत तीन वर्षअघि महासंघको काठमाडौं शाखामा कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएको थिएं । साथीहरूको सल्लाह र अग्रजहरूको सहयोगमा म यसरी सदस्य बनेको हुं । यसमा कुनै शंका छैन । किनेभने म कुनै समूह र राजनीतिक पार्टीसंग सम्बन्धित थिइनं । त्यसैले महासंघको कार्यकारिणीमा मेरो प्रवेश सहज थिएन । अहिले तीन वर्षे कार्यकाल पुरा हुन केही दिन मात्र बांकी छ । यो तीन वर्षे कार्यकाल मेरो लागि नयां अनुभव बटुल्ने र महासंघ बुझ्नमा सुरुका दिनहरू बिते । त्यसपछि केही नयां काम गरौ भन्ने सोचाई बन्दै गर्दा महासंघ केही विवादमा समेत फस्यो । त्यसपछि सबै काम स्थगितजस्तै बन्यो । यो पनि चुस्त र सक्रिय टिम नहुंदाको परिणाम हो भन्ने मलाई लागेको छ । अरु साथीहरूलाई के लाग्यो थाहा छैन । काठमाडौं शाखाको महत्व, विशेषता र भूमिका जति नै बढी भएपनि चुनावमा मात्र बढी तात्नुले पनि यसमा राजनीतिक प्रभावले काम गरेको मान्न सकिन्छ । राजनीतिक पार्टी हेडक्वार्टरबाट उम्मेदवार तोकिने परम्पराले पनि नवीन सोंचका साथ महासंघ काठमाडौं शाखा हिड्न वा हिडाउन सकिएको छैन । विगत तीन वर्षमा मैले अनुभव गरेको विषय यो पनि हो । माथि नै पनि चर्चा गरियो यो शाखा र यससंग सम्बन्धित पत्रिकाहरू पत्रकार जन्माउने र फिल्टर गर्ने कारखाना पनि हो । तर, यहां तिनका लागि न तालिम छ, न अध्ययनका लागि सामग्री नै । अन्य ठुला लगानीका पत्रिकाहरूले आफ्ना सम्वाददाताहरूलाई विषयमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका तालिम र सामग्रीहरू उपलव्ध गराउने गर्छ । साना लगानीकाहरूलाई त्यो सम्भव छैन । त्यस अवस्थामा महासंघको सम्बन्धित शाखाले त्यो काम गर्न सक्नुपर्ने हो । तर, त्यो देखिदैन मात्र होइन त्यतातिर कसैको सांेच नै बनेको देखिदैन । त्यसकारण चुनावका बेला राजनीतिक शाक्ति केन्द्र र व्यक्तिहरूकोमा धाउनु र तिनैको वक्तव्य हुबहु छाप्नु साना लगानीका पत्रिकाहरूको पेसा बनेको छ । हजार हाराहारीमा सदस्य संख्या रहेको शाखाको आफ्नै एउटा पुस्तकालय आवश्यक मानिन सक्छ । पत्रकारितामा विश्वमा आएका नयां प्रविधि र प्रकाशनहरूबारे जानकारी सिकारु पत्रकारहरूलाई पनि दिनसके राम्रो हो । एउटा आफ्नै भवन, आफ्नो नियमित प्रकाशन, पत्रकारहरूको पिरमर्का पर्दाका लागि एउटा भरपर्दो कोष आवश्यकता हो । तर, त्यो सब चासोको विषय बनेन ।
गर्न सकिने र गर्नैपर्ने कामहरू
    साना लगानीका पत्रिकाहरू घिटिघिटि भएर बांच्नुभन्दा मरेको राम्रो भन्दै प्रधानमन्त्री देउवाले अगि्रम शुभकामना दिइसक्नु भएको छ । अब यि पत्रिकाहरू प्रधानमन्त्री र सरकारको आवश्यकता रहेन । त्यसो त प्रधानमन्त्री देउवा अघिल्लो पटक प्रधानमन्त्री रहंदा पनि अन्तर्राष्ट्रियस्तरमै 'पत्रकारिताको शिकारी' व्यक्ति हुन् । त्यसैले अब पनि शिकारमा निस्कनु ठुलो कुरा भएन । तर, साना लगानीका पत्रिका र त्यससंग सम्बद्ध व्यक्तिहरूले गम्भीर भएर सोच्नैपर्छ । हिजो प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ अधिकारी, सरकार, राजनीतिक दल र अन्य संस्थाहरूको आवश्यकता यही थियो । यिनै पत्रिकाको कार्यालयमा आएर विज्ञप्ति र अन्तर्वार्ता दिंदै हिड्थे । तर, अब त्यसको स्थानमा उनीहरू ठुला लगानीका टिभी, रेडियो र पत्रिकामा धाउन थालेका छन् । यसैकारणले विगतमा दशहजार छापिने कतिपय पत्रिका हजारमा झरेका छन् । देशका कुनाकुनासम्म मात्र होइन विदेशमा समेत पढिदै आएका पत्रिका अहिले थानकोट काट्न छाडेका छन् । प्रकाशित समाचार र विचारको प्रभाव हराउंदै गएको छ । यो तितो सत्य हो । यसो भन्न मन दुखाइरहनु पर्दैन ।
    त्यसैले अब हामी पनि नयां नयां प्रयोग र प्रविधिमा जानैपर्छ । हाम्रो जनशक्तिलाई पनि समयअनुसार शारिरीक, मानसिक, प्राविधिक रुपमा चुस्त, सक्रिय र सबल बनाउनेतिर लाग्नैपर्छ । पाठकहरूको रुचीअनुसारको सामग्री दिनका लागि जनशक्तिलाई आर्थिक, भौतिक र नैतिक रुपमा सबल नबएसम्म सफल हुने देखिदैन । अबको जमानामा काठमाडौंबाट हुलाकमा हालेर पत्रिका पठाउने चलन हराउन थालिसकेको छ । पहिलाजस्तो गौस्वारा हुलाकमा पत्रिका हाल्नेको भीड देखिदैन । एयरपोर्टमा भारीका भारी पत्रिका ओसार्ने यो पंक्तिकार पनि हो । पत्रिकाको पैसा उठाउन पश्चिमका रोल्पा, रुकुम, सल्यान मात्र होइन पूर्वको इलामसम्म पुगेको हो । तर, अहिले एयरपोर्टबाट पत्रिका पठाउने र पैसा उठाउन जाने चलन लोप हुंदै गएको छ । यसको कारण हो पत्रिका नै सबैतिर पठाउन सम्भव छैन । अझ देशमा व्याप्त द्वन्द्वका कारण झन पीडा थपिएका छन् । त्यसो भनेर अब हामी चुप लागेर बस्ने दिन छैन । विज्ञानले नयां प्रविधि दिएको छ । हामीले राजधानीको एउटा कोठाबाट अमेरिकामा बसेको पाठक आफ्नो बनाउन सक्छौं । संचार पुगेको सगरमाथाको फेदिदेखि तराइसम्म क्षणभरमै आफ्नो विचार र समाचार संप्रेषण गर्न सक्छौं । त्यो प्रविधिमा पनि जान सक्नु समयको माग भइसकेको छ । त्यसका लागि आफ्नो जनशक्तिलाई पनि त्यही रुपमा विकास गर्नु आवश्यक छ । त्यो प्रविधिमा पारंगत नबनाई लेटर प्रेसको अनुभवले वर्तमान प्रविधि समेट्न सक्दैन । त्यसैले सात सय बढी वर्षेनी नवीकरण गर्ने सदस्य भएको र साना लगानीका पत्रिकाका पत्रकारहरू संगठित संस्था पत्रकार महासंघ काठमाडौं शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ र गर्नुपर्छ । काठमाडौं शाखाले आफ्नै भवनमा कार्यालय, पुस्तकालय, मासिक वा त्रैमासिक रुपमा विभिन्न नयां विषयहरूमा तालिम, नियमित प्रकाशन गर्ने हो र समयअनुसार आफ्ना सदस्यहरूलाई दक्ष बनाउंदै लैजान सके यसको महत्व र गरिमा झन बढ्ने निश्चित छ । त्यसबारेमा आगामी निर्वाचनबाट आउने नेतृत्वले गम्भीर रुपमा छलफल गर्नुपर्छ । त्यसैबाट हामीमा समझदारी, इमान्दारी र जिम्मेवारी कतिको छ र हामीले पुरा गछौं भन्ने देखिनेछ ।
दिनेश बस्नेत
नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको मुखपत्र पत्रकारितमा प्रकाशित

No comments:

Post a Comment