दिनेश बस्नेत
सूचना प्रविधिको द्रूत्ततर विकासले यतिबेला विश्व एउटा ग्राममा परिणत भएको छ। परेवा संस्कृतिबाट सूचना आदान-प्रदान हुँदै हप्तौसम्म हुलाकीको पर्खाईमा आफन्तको सन्देश पर्खनुपर्ने जमाना अब छैन । समाचार होस वा अन्य कुनै सन्देश इन्टरनेट प्रविधिको माध्यमबाट पलभरमा प्राप्त गर्न र पठाउन सकिने भइसकेको छ
यसले विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजनसमेत विश्वको जुनसुकै स्थानबाट प्रकाशन प्रसारण भए पनि विश्वको अर्को कुनामा तत्काल सहज पढ्न, सुन्न र हेर्न सकिने प्रविधि हामीसँग पनि छ। तपाईसँग कम्प्युटर र इन्टरनेटको सुविधा छ भने माउस समात्नुस र इन्टरनेटमा ब्राउज गर्नुस् तपाईमा रहेको सूचना वा समाचारको भोक तत्काल मेटिनेछ ।
सूचना प्रविधिमा आएको पछिल्लो विकासक्रमले इन्टरनेटमा श्रव्य, दृष्य, तस्वीर, र अक्षरका माध्यमबाट समाचार वा कुनै पनि सूचना एक स्थानबाट राखेपछि संसारभर क्षणभरमा हेर्न मिल्ने भएकाले यसमा पाठकको आकर्षण बढ्दो छ। विस्तारै गाउँगाउँमा इन्टरनेट सुविधा पुग्नाले पछिल्लो समयमा नेपालमा पनि इन्टरनेट पूस्ता ह्वात्तै बढेको छ। यसले विगत केही वर्षदेखि पत्रकारितालाई समेत अनलाइनमा प्रवेश गराइसकेको छ।
नेपालमा अनलाइन पत्रकारिता
इन्टरनेटको इतिहास कोट्याउने हो भने सन् १९६९ तिर संयुक्त राज्य अमेरिकातिर पुग्नुपर्ने हुन्छ । अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञहरुले प्रयोग गरेको नेटवर्क प्रविधि नै अहिले विश्वभर इन्टरनेटको नामबाट प्रचलनमा रहेको छ। अझ सन् १९९० मा बेलायती बैज्ञानिक टीम बेनटे लीले वेभसाइट बनाउनका लागि एचटीएमएल कोडको विकास गरेपछि इन्टरनेटले क्रान्ति नै ल्यायो ।
विश्वमा विकास भएको एक दशक नकाट्दै यो प्रविधि सन् १९८९ मा नेपाल भित्रिएको मानिन्छ । नेपालमा यो प्रविधि बरिष्ठ पत्रकार भारतदत्त कोइरालाले सन् १९८९ मा इलेक्ट्रोनिक मेलबक्सको नामबाट प्रयोग गर्नु भएको थियो । संस्थागत रुपमा भने सन् १९९१ अर्थात वि.सं. २०४८ देखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान -रोनास्ट)ले नेपालमा इमेलको प्रयोग सुरु गरेको हो । नेपालमा व्यवसायिक रुपमा इन्टरनेटको सुरुवात विक्रम सम्बत २०५१ सालबाट मर्कन्टाइल कम्युनिकेशनले गरेको हो । मर्कन्टाइलले सुरुमा इमेल सेवा मात्र प्रदान गरे पनि ३१ असार २०५२ बाट वल्र्ड लिङ्कले नेपालमा इन्टरनेट सेवा उपलव्ध गराउन थालेको हो । हालको नेपाल दूरसंचार प्राधिकरणले २०५८ सालबाट मात्र इन्टरनेट सेवा उपलव्ध गराउन थालेको भए पनि यतिबेला देशमा दुई दर्जन बढी इन्टरनेट सेवा प्रदायक संस्थाहरुले कारोबार गरिरहेका छन् ।
इन्टरनेट सुरुमा इमेलमा चिठ्ठीपत्र आदान प्रदानका लागि प्रयोगमा ल्याइए पनि यो ७/८ वर्षको अवधिमा यो प्रविधिमा आधारित रहेर अनलाइन पत्रकारिता आशलाग्दो रुपमा फस्टाएको छ। अहिले नेपालका हरेक सूचना प्रवाह गर्न पि|m नेपाल डट कम, नेपाल जापान डट कम, नेपाल न्युज डट कम, अनलाइन खबर डट कम, हिमाल खबर डट कम इकान्तिपुर डट कम, इजमाना डट कम, नागरिक न्युज डट कम, नेपाली पोष्ट डट कम, नेपाल दुबई डट कम, नेपाल युके डट कमजस्ता दर्जनौ अनलाइन लागेका छन् । अनलाइन मिडिया एसोसिएसनले राखेको तथ्याङ्कअनुसार हाल नेपाली भाषामा मात्र ६० बढी अनलाइन संचालनमा छन् भने अंग्रेजी भाषामा दर्जन बढी छन् ।
नेपालमा इन्टरनेट सुविधा झण्डै एक दशकअघि मात्र आएको भए पनि अनलाइनको सुरुवात भने देशबाहिर रहेका नेपालीहरुले त्यसअघि नै गरिसकेका थिए । अहिलेसम्म सन् १९९८ बाट अमेरिकाबासी नेपालीले संचालनमा ल्याएको द नेपाल डाइजेष्टलाई पहिलो मानिदै आएको भए पनि रुसमा रहेका नेपालीहरुले संचालन गरेको पि|m नेपाल डट कम पनि दशौं वाषिर्कोत्सव मनाइसकेको सो पत्रिका प्रधानसम्ापदक डा. मधुकृष्ण श्रेष्ठले बताउनुभएको छ। उहाँकाअनुसार पि|m नेपाल डट आरयूका रुपमा १९९८ मा सुरु भएको पि|m नेपाल डट कमले दशौं वाषिर्कोत्सव मनाइसकेको छ । यद्यपि नेपालभित्रबाट भने सन् १९९९ बाट नेपाल न्युज डट कमले संस्थागत रुपमै अनलाइन पत्रकारिता थालेको थियो ।
अनलाइनमा पि्रन्ट संस्करण
इन्टरनेट माध्यममा अनलाइन पत्रिमा मात्र संचालनमा छैनन्, पि्रन्टमा निस्कने पत्रिकाहरु पनि प्रायः सबैजासो बढ्न सकिन्छ । नेपालबाट प्रकाशित हुने जेठो गोरखापत्र दैनिक, जनदिशा, कान्तिपुर, नयाँ पत्रिका, समाचारपत्र, राजधानीलगायत सबै अनलाइनमा पढ्न सकिन्छ । साथै नेपालबाट प्रकाशित हुने नेपाल, तरुण, समय, साँघु, जनसत्ता, घटना र विचारलगायत सबैजासो साप्ताहिक पत्रिमा पनि अनलाइनमा छन् । यसमा अन्य मासिक र पाक्ष्ँिकसमेत छन् ।
त्यसो त नेपालमा केही टेलिभिजन र एफएम रेडियो अनलाइनमा सहज सुन्न सकिन्छ । यसले अबका केही वर्षमा नेपाली पत्रकारिता अनलाइन माध्यममा राम्रैसँग फस्टाउने प्रष्ट छ ।
बढ्दो पाठकीय रुची
नेपाली भाषामा संचालनमा रहेका अनलाइनहरुमा पाठकको भिड यसरी बढेको छ कि कहिले काही सामँन्य व्याण्डविथ र सर्भरले थाम्न छोडिसकेको छ। नेपाल जापान डट कमका वेभ मास्टर बलराम दाहालकाअनुसार अनलिमिटेड व्याण्डविथ र भरपर्दो सर्भरको व्यवस्था गर्दासमेत पाठकको चापका कारण साइटमा समस्या देखिने गरेको छ । दाहालकाअनुसार नेपाली अनलाइनमा आजभोलि दैनिक ५० हजारसम्म युनिक भिजिटर आउन थालिसकेका छन् । यस कारण पनि पाठकहरु अनलाइन संचार माध्यममा भर पर्न थालेका छन् भन्न सकिन्छ । नेपालका सबै स्थानमा इन्टरनेटको पहुँच नभए पनि देशबाहिर रहेका झण्डै ३६ लाख, भारत, भुटान आदि मुलुकका नेपालभाषी पाठकसमेत नेपाली अनलाइनका पाठक हुन् । पछिल्लो समयमा नेपालका दूरसंचार कम्पनीहरुले मोबाइलमा इन्टरनेट वितरण गरेपछि अनलाइन पत्रिकाको पाठक पनि निकै बढेको छ । मोबाइलबाट ल्यापटप, कम्प्युटर वा सिधै मोबाइलमा अनलाइन पत्रिका पढ्न सकिने भएको छ ।
विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरुले स्थापना गरेका झण्डै ५ सय बढी राजनीतिक, सामाजिक, साहित्यिक र सांस्कृतिक संघ/संस्थाको गतिविधि अनलाइनहरुका लागि प्राथमिकताका समाचार बन्ने गरेबाट पनि त्यहाँ रहेका नेपालीहरुका लागि संचारको एउटै मात्र साधन अनलाइन बन्न पुगेको छ।
व्यवसायको रुप लिदै अनलाइन
ब्लग र सामान्य अनलाइनबाट सुरु भएको अनलाइन पत्रकारिता दशक नपुग्दै व्यवसायको रुपमा लिने क्रममा छ। अहिले अनलाइनमा ठुला लगानीकर्ताहरुसमेत आकषिर्त बनिरहेका छन् ।
यद्यपि सरकारले चासो नदिकै कारण अनलाइनहरुले विभिन्न समस्या पनि बेहोरिरहेका छन् । जसमा मुख्य रुपमा पेमेन्ट गेटवे नहुनु पनि हो । पेमेन्ट गेटवे नभएका कारण अनलाइनहरुले रकम आदान प्रदान गर्न समस्या भोगिरहेका छन् । सरकारले अनलाइन पेमेन्ट गेटवेको व्यवस्था गर्ने हो भने अनलाइनहरुले समाचार निःशुल्क मात्र नदिएर ग्राहकसमेत बनाउन सक्नेछन् ।
हामीले बेलाबेलामा भन्ने गरेका छौं, विदेशी संचार माध्यमले नेपालको नकारात्मक खबर मात्र सनसनीपूर्ण तरिकाले सम्प्रेषण गरेकाले पर्यटन व्यवसाय धराशायी भयो । तर, अब नेपाली अनलाइन मिडियालाई उपयोग गर्ने हो भने हाम्रो बारेमा विदेशी संचार माध्यमले यसो गरे र उसो गरे भन्नुपर्ने छैन । विदेशी संचारमाध्यमहरुले आफ्नो अनुकुलताका सामग्री पस्कने गरेका छन्, नेपाली अनलाइनहरु भने देशको हितअनुकुल संचालनमा रहेका छन् भन्न सकिन्छ । अझ भर्खरै बामे सर्दै गरेको अनलाइन पत्रकारितालाई व्यवस्थित गर्ने हो भने हामीले यसबाट थप उपलव्धीहरु प्राप्त गर्ने सक्ने निश्चित छ।
कानुनी अवस्था
पछिल्लो आधा एक दशकमा नेपालमा अनलाइन पत्रकारिताले विकासको तिब्र गति समातेको छ। तर, कानुनी रुपमा अझै पनि अनलाइन पत्रकारिताले मान्यता पाउन सकेको छैन ।
सरकारद्वारा गठित उच्चस्तरीय मिडिया आयोगको प्रतिवेदन, नेपाल पत्रकार महासंघ, श्रमजीवी पत्रकार ऐन, अन्तरिम संविधानजस्ता कानुनी दस्तावेजमा अनलाइन मिडियालाई मुलधारको संचार माध्यम मानिएको छ। तर, यसलाई व्यवस्थित गर्न सम्बद्ध निकायले ध्यान दिएको पाइँदैन । सरकारले पछिल्लो समयमा अनलाइन संचार माध्यममा कार्यरत संचारकर्मीहरुलाईसूचना विभागमार्फत प्रेस पास भने उपलव्ध गराउन थालेको छ।
छिमेकी मुलुकहरुको तुलनामा नेपालमा कम्प्युटरको उपयोग र सफ्टवेयरको उत्पादन धेरै पहिले भएता पनि सरकारी योजना र दूरदृष्टिको अभावमा अहिल नेपाल पछि परेको विज्ञहरुको भनाइ छ । पहिलो राष्ट्रिय सूचना प्रविधि नीति २०५७ सालमा बेनपनि त्यसअनुसार नियमकानुन बन्न सकेको छैन भने अनलाइनलाई समेत समेट्न सक्ने साइबर कानुनको अभावमा डिजिटल प्रविधिबाट हुने व्यापार व्यवसाय र आर्थिक कारोबार निर्वाध रुपमा हुन सकिरहेको छैन । नियम कानुनको अभाव नै यो क्षेत्रको प्रमुख बाधक देखिएको छ ।
त्यसो त विश्वमा इन्टरनेट सम्बन्धी कानूनी व्यवस्था कस्तो हुनुपर्छ भन्ने अहिले वहसको विषय बनेको छ । यही कानुन बन्ने प्रक्रियामा इन्टरनेटको जननी एवं विश्व महाशक्ति राष्ट्र अमेरिकाले सर्वप्रथम सन् २००० मा 'कम्युनिकेसन डिकेन्सी एक्ट' -सीडीए) ल्याएपछि पहिला अश्लिल साइटहरुमाथि प्रतिबन्ध लगाउन थालिएको हो । पछिल्ला दिनहरुमा आतंकवादी सूचनालाई रोक्न विभिन्न मुलुकहरुले आ-आˆनै संयन्त्र तयार गरेका छन् । गत वर्षमात्र इन्टरनेटमा देशको हित अनुकुल सामाग्री राखेवापत चीनका ५० वेभसाइड संचालकमाथि कारर्वाही भयो । ५० जनालाई नै त्यहाको सरकारले थुन्यो ।
नेपालमा भने २०६१ मा अध्यादेश मार्फत आएको विद्युतिय कारोवार सम्बन्धी ऐन-२०६१ ले राष्ट्रिय हितमा आँच पुर्याउन सक्ने विषयमा संचालन गरिएका साइटमाथि प्रतिबन्ध लगाउने प्रावधान राखेको छ । त्यस्तै दूरसंचार ऐन, २०५३ को दफा १९ र २० अनुसार आवश्यक देखिएमा जुनसुकै इन्टरनेट तथा क्ष्क्ए माथि नियन्त्रण लिन सक्ने प्रावधान छ । यसै अनुरुप नेपालले माघ १९ को पछिको संकटकालपछि दुई दर्जन बढी नेपाली इन्टरनेट पत्रिकाहरु ब्लक गरेको थियो । इन्टरनेटको विश्वस्थरीय कानुन मानिएको इन्टरनेट प्रोटोकल अनुसार भने सूचनामूलक साइटहरु बल्क गर्न पाइदैन । यद्यपि त्यसमा ब्लक गर्ने मुलुकलाई के गर्ने भन्ने स्पष्ट छैन ।
आगामी दिन
नेपाली पत्रकारितामा अब अनलाइन विद्या सशक्त माध्यमका रुपमा स्थापित भइसकेको छ। सूचना प्रविधिको विकासमा आएको परिवर्तन अनुसार अगाडी नबढ्ने हो भने हामी जहाँको तही रहने अवस्था पनि छैन, धेरै पछाडी धकेलिनेछौं । विश्वग्रामबाट अलगिन्छु भन्नु मुखर्तासिवाय हुने छैन । यसकारण समय अनुसार आफूलाई अगाडी लैजानु नै पर्छ । पत्रकारितामा पनि सूचना प्रविधिलाई सेतो भूत मान्ने सोच नहटाउने पत्रकारको भविष्य संकटमा पर्ने निश्चित छ । जो सूचना प्रविधिको यो महासागरमा पौडन सक्दैन त्यसले दीगो पत्रकारिता गर्न पनि सक्दैन । यसकारण सूचना र संचारका नयाँ प्रविधिलाई आत्मसात गर्नुपर्ने बाध्यता सबैमा छ ।
विगतमा कुनै समाचार लिन टेलिभिजनको ठूलै क्रु गर्नु वा रेडियोका समाचार बुलेटिन गर्नुपर्ने अवस्था थियो । अहिले त्यो अवस्था छैन । विश्वका कुनै पनि कुनामा भएको घटनाको जानकारी लिनसमेत माउस घुमाउने बानी हामी सबैमा परिसकेको छ। कुनै पनि युद्धस्थल वा घटना घटेको स्थानमा आधा केजीभन्दा पनि कम तौलको पामटप, सीडीएमए वा स्याटेलाइट फोन र डिजिटल क्यमरा भिरेर हिड्ने कुनै पत्रकारले आफै रिर्पोटर, सम्पादक र प्रकाशक हुन सकेका उदाहरण हामीसामु आइसकेको छ ।
त्यसैले अनलाइन पत्रकारितालाई कानुनी दायरामा समेटेर बेलैमा व्यवस्थित गर्नु आजको आवश्यकता हो । यसो भन्दा नागरिक पत्रकारिताका रुपमा विस्तार हुंदै गएको नागरिक पत्रकारिता अर्थात ब्लगलाई पनि कानुनी दायरामा समेट्नुपर्छ भन्न खोजिएको भने होइन । अनलाइन पत्रकारिता र नागरिक पत्रकारिता फरक धार हुन् । किनभने हरेक पत्रकार नागरिक पत्रकार बन्न सक्छन् तर हरेक नागरिक पत्रकार पत्रकार बन्न सक्दैनन् ।
यस अर्थमा अनलाइन पत्रकारितालाई मल्टिमिडियाका रुपमा कानुनी दायरामा ल्याएर देश र जनताको हितमा प्रयोग गर्नुको विकल्प छैन ।
पछिल्लो समयमा आएर अनलाइनहरुमा पनि क्रमशः विद्यागत विकाससमेत सुरु भएको छ। मनोरञ्जन रुचाउने पाठकहरुका लागि इनसा डट कम, साइबर संसार डटजस्ता अनलाइन क्रियाशील छन् भने साहित्य कला पारखीहरुका लागि इजमाना डट कम, इपत्र डट कम, कलासाहित्य डट कम, समकालिन साहित्य डट कम, साहित्य डट कम डट एनपी छन् त्यस्तै हाँस्यव्यङ्ग्यमा रुची राख्नेका लागि डामाडोल डट कमले अनलाइनमा विद्यागत सामग्री पस्किरहेका छन् ।
अझ शिक्षा, स्वास्थ्य, रोजगारी, बैंकिङ्ग, पर्यटन आदि अनलाइनहरु विद्यागत रुपमै अगाडि आइसकेका छन् । विशुद्ध समाचार पस्कने अनलाइनहरुमासमेत सबै विधालाई समेटेर पि्रन्ट पत्रिकाकै रुपमा पूर्ण पत्रिका बनाउने क्रम तीब्र छ । अझ बहुभाषिक पत्रिकाहरुले भिन्नभिन्न भाषाका पाठक आफूतिर आकषिर्त गरिरहेका छन् ।
नेपाली अनलाइन पत्रिकाहरुका पाठक विशेषतः विदेशमा बस्ने नेपाली बढी हुने भएकाले यसमा उनीहरुले नै अनलाइन संचालनमा ल्याएका छन् । जस्तो नेपाल जापान डट कम जापानबासी नेपालीले चलाएका हुन् भने पि|m नेपाल डट कम रसियाबासी नेपालले चलाएका हुन् । त्यस्तै नेपाली पोष्ट अमेरिका, नेपाल बि्रटेन बेलायत, नेपाल दुबई यूएई हुन् । नेपाली भाषामा नेपालबाटै संचालनमा रहेका विशुद्ध अनलाइन पत्रिकामा भने अझै कमी छ । जसमा अनलाइन खबर डट कम, नेपाल खबर डट कम, रिपोर्टर्स नेपाल डट कम, कृष्णसेन अनलाइन डट कम जस्ता अनलाइन पत्रिका नेपालबाट संचालन भइरहेका छन् ।
हालै सरकारले ल्याएको एक जना साथी नेपाल पठाउ अभियान सफल बनाउन पनि अनलाइन मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको थियो । विदेशमा रहेका नेपालीहरुको संचारको साधन अनलाइन भएकाले उनीहरुसम्म पुग्ने माध्यम अनलाइन नै हो । यसरी नै अन्य पर्यटकीय परियोजनाहरुलाई अनलाइनमार्फत प्रवर्द्धन गर्ने हो भने नेपालको पर्यटन व्यवसाय प्रवर्द्धन गर्न कुनै समस्या पर्ने छैन ।
नेपाली अनलाइन पत्रिकाहरुले अब नेपालको सूचना हेर्न विदेशी अनलाइनमा जानु पर्दैन । नेपाली भाषामासमेत सम्पूर्ण सूचना सम्प्रेषण गरेर आफूलाई मुलधारमा उभ्याइसकेका छन् । तर, राज्यले यसलाई व्यवस्थित गर्न नसक्दा आर्थिक संकट धेरै अनलाइनहरुको चुनौति बनेको छ। सरकारले प्रेस पाससम्म दिने निर्णय गरिसकको अवस्थामा छापाखाना तथा प्रकाशन ऐनमा संशोधन गरेर अनलाइन संचार माध्यमलाई पनि व्यवस्थित गर्ने हो भने अबको विश्वमा नेपाली अनलाइनहरुले आफ्नो पहिचान दिन सक्षम हुने बेला भइसकेको छ।
राज्यले व्यवस्थित गर्न ढिलाई गरेकै कारण व्यवसायिक विज्ञापन प्राप्त गर्ने वैध बाटाहरुसमेत स्पष्ट हुन सकेको छैन । चार पाँच दर्जन अनलाइन सशक्त रुपमा संचालन भइरहेको अवस्थामा अब त्यसलाई व्यवस्थित बनाउन ढिलाई गरिनु हुन्न ।
साथै अनलाइनहरुले पनि इन्टरनेट सुविधालाई इमेल र च्याटमा मात्र सीमित गरिरहेको ठुलो समूहलाई आफूतिर आकषिर्त गर्न सक्नु आजको आवश्यकता हो । किनभने अहिले पनि नेपाली युवाहरुको ठुलो समूह इन्टरनेटलाई इमेल र च्याट गर्नमा मात्र प्रयोग गरिरहेका छन् । त्यो समूह अनलाइनमा समाचार पढ्ने र त्यसबाट सन्तुष्ट हुने अवस्था सिर्जना हुने हो भने अब अनलाइन आम्रो जीवन शैली बन्ने निश्चित छ। अझ एक गाविस एक सूचना प्रविधि केन्द्रको विकास गर्न सक्ने हो भने देशलाई इन्टरनेटको माध्यमबाट एउटै सञ्जालमा जोड्न सकिने छ।
अनलाइन माध्यममा कार्यरत पत्रकारहरुसमेत संगठित रुपमा अघि आइसकेका छन् । आफ्नो समस्या सामूहिक रुपमा समाधान गर्न अनलाइन मिडिया एसोसिएसन नेपाल र साइबर जर्नालिस्ट एसोसिएसन नेपाल अनलाइनकर्मीहरुको हकहितका लागि क्रियाशील रहेका छन् । सरकारले एउटा संयन्त्रमा आवद्ध गरेर आफ्नै किसिमले विकास भएका अनलाइनहरुलाई उपयोग गर्ने हो भने अब विश्व मानचित्रमा नेपाललाई नयाँ पहिचान दिन सकिने स्पष्ट छ।
बस्नेत अनलाइन मिडिया एसोसिएसनका अध्यक्ष हुन् ।
No comments:
Post a Comment