Wednesday, April 14, 2010

गाईजात्रा

 गत तेह्र वर्षअघिसम्म नेपालमा वाक तथा प्रकाशन स्वतन्त्रता थिएन । जनताले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्न सक्तैनथे । तर, वर्षको तीन सय पैसठ्ठी दिनमा एक दिन यस्तो थियो, जसमा जनताले आफ्नो मनमा लागेका कुरा पोख्तथे, त्यो हो गाइजात्राको दिन ।

    जनैपूणिर्माको भोलिपल्ट अर्थात भाद्रकृष्ण प्रतिपदाको दिनदेखि एक सातासम्म मनाइने यो जात्रा विशेषगरी नेवार समुदायमा प्रचलित भएपनि अहिले नेपाली लोकसंस्कृतिको अभिन्न अंग बनिसकेको छ । गाईजात्राका अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, नाचगान, उत्सव आदि भएपनि लाखेनाच, रोपाई, खडगजात्रा, ख्याली-प्रहसन र लोकनृत्यहरू गाईजात्राको विशेषताभित्र पर्दछन् ।
    गाईजात्राका बेला मुखमा कालो दलेर, झुत्रा-झाम्रा लुगा लगाएर बहुरुपी बनि अनेक अश्लील चेष्टा गरेर दर्शक हसाँउने मात्र नभएर यो जात्राका अवसरमा सरकार र शासकहरूको त्रुटि, कमीकमजोरी र अत्याचारहरूका बारेमा पनि खुलेर बोल्ने व्यंग्य गर्ने परम्परा छ । आफूलाई चित्त नबझेको कुरा खुलेर बोल्न पाउनु पनि गाईजात्राको महत्वपूर्ण विशेषता हो । यस जात्राको अवसरमा विभिन्न पत्रपत्रिकाले गाईजात्रे विशेषांक समेत प्रकाशन गर्ने गर्दछन् । तर, २०४६ सालमा बहुदल आएपछि भने वाक तथा प्रकाशन स्वतन्त्रता प्राप्त भएकाले त्यसमा त्यति महत्व दिइदैन । तर, यसको धार्मिक र साँस्कृतिक पक्ष भने प्रवल छदैछ ।
    धार्मिक मत मान्नेहरूले गाईजात्राका अवसरमा मृत्यु भएका आफन्तहरूका नाममा गाईलाई अनेक वस्त्रले सिंगारेर र किशोरहरूलाई जोगी बनाएर शहर र टोलका गल्लीहरूमा डुलाउने चलन छ । वर्ष दिनभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिंगारी आ-आफ्ना टोल क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत सिदा र दक्षिणा दिने गर्दछन्् ।  यसरी नगर परिक्रमा गराउनाले वर्षभर मृत्यु भएका ब्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी तर्छन् भन्ने धार्मिक जनविश्वास रहेको पाइन्छ ।
    त्यस्तै एक कथनअनुसार चित्रगुप्तको न्यायालयको ढोका वर्षमा एक पटक मात्र खल्छ । त्यो दिन यही भाद्र कृष्ण प्रतिपदाका दिन पर्ने भएकाले त्यस दिन धर्तीका मृतात्माहरू चित्रगुप्तको न्यायालयमा हाजिर हुन धर्तीबाट प्रस्थान गरे गरेनन् भन्ने बुझ्नका लागि धर्मराज -यमराज) ले दूतका रुपमा कागलाई पठाउँछन् भन्ने भनाइ छ । त्यसैले मृतात्माको नाममा गाई वा जोगी बनाएर शोभायात्रा गराउने चलन चलाइएको संस्कृतिविदहरु बताउँछन् । यसरी यात्रा गराएपछि चित्रगुप्तको न्यायालय जाने बाटामा पर्ने भयानक नरकहरूबाट गाईले पार गराउँछिन् भनिन्छ । साथै चित्रगुप्तलाई न्याय दिलाउने कार्यमा समेत गाईले सघाउँछिन भन्ने लोकोक्ति छ । यसै लोकोक्तिलाई मानेर अहिले पनि जोगी र गाईको शोभायात्रा गराउने चलन कायमै छ ।
    त्यसैगरी एक खाले विद्वानहरूले यस पर्वलाई सृष्टि र लयसँग पनि जोडेर हेर्ने गरेका छन् । यस तर्कअनुसार ब्रम्हाजीको रात र दिनको हिसावमा मानवको कल्प कल्पना गरिएको हुन्छ । अर्थात् ब्रम्हाजीको एक दिन हाम्रो कल्प बन्दछ-दिन एक कल्प र रात एक कल्प । एक कल्प -ब्रम्हाको एक दिन) मा सृष्टि र अर्को कल्प -ब्रम्हाको रात) मा लय हुन्छ । यही सृष्टि र लयको कल्पनाअनुसार हाम्रो वर्ष दिनको चाडको क्रम बनेको हुन्छ । जसले सृष्टि र लयको विधानलाई प्रतिनिधित्व गर्दछ भन्ने मान्यता रहेको पाइन्छ ।
    गाईजात्रालाई सबैले मन पराउँछन् तर एउटा समुदायको यो पर्वलाई हेर्ने दृष्टिकोण फरक रहेको पाइन्छ । गाईजात्रालाई बौद्ध समुदायले भने बहिस्कार गर्ने गर्दछ । यद्यपि, नेपालमा त्यस प्रकारको प्रत्यक्ष घटना घटेको पाइदैन । ंकट्टर बौद्ध समुदायको विश्वास अनुसार भाद्र कृष्णप्रतिपदाकै दिन -कामदेव)ले भगवान बुद्धको तपस्या भंग गर्ने चेष्टा गरेका थिए । बुद्धको तपस्या भंग गर्ने ध्येयले आफ्ना असंख्य सेनाहरूलाई अनेकन अश्लील, विभत्स, कुत्सित व्यवहार गरेको हुनाले हाल प्रदर्शन गरिने प्रहशन, ख्याली वा लाखे नाचहरू पनि त्यसैको प्रतिरुप हो भन्ने विश्वासका कारण उनीहरू यसलाई मन पराउँदैनन् ।
    यस जात्राको बारेमा नेपाली समाजमा प्रचलित एक अर्को लोकोक्तिअनुसार मल्लकालीन राजा प्रताप मल्लका छोरा चक्रर्तेन्द्र मल्लको असामयिक निधन भएपछि राजदरबारमा ठूलो शोक पर्‍यो । यसबाट सबभन्दा बढी चोट रानीमा पर्‍यो । उनलाई धेरैले हरप्रकारले सम्झाइबुझाई गर्दा पनि उनको शोक कम भएन । स्वयम् राजाले पौराणिक आख्यान, अध्यात्मिक उपदेश र लौकिक उदाहरणहरू दिएर सम्झाउँदा पनि रानीको चित्त साम्य हुन सकेन ।
    आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो मरेका ब्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएकोमा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहशन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरुप देखाइएको विचित्र-विचित्रका ख्याली-प्रहसन र हाँस्यात्मक क्रियाकलापले रानीको मन खुशी भएकोले सोही समयदेखि यो चलन चलेको हो भन्ने जनविश्वास रहेको पाइन्छ ।
    यसैबेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमान ढोकास्थित राजप्रसाद भएर जानुपर्ने परम्परा अद्यावधि जारी छ । त्यहाँ हाजिरी चढाउन जाने र साताभरमा उत्कृष्ट ख्याली प्रदर्शन गर्ने टोलीलाई पुरस्कार दिने चलन नै छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहशन, सामाजिक विकृतिहरूप्रति व्यंगात्मक प्रर्दशन, नाचगान तथा  मृत ब्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान चामलको नमूना, काठमाडौको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् । गाईजात्रा पर्व काठमाडौ उपत्यका लगायत बनेपा, धुलिखेल, दोलखा, खोटाङ, रामेछाप, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौडा र पोखरा लगायतका स्थानहरूमा पनि मनाइन्छ । तर, आजभोलि यो पर्व पनि बढी नै व्यापारिक बन्दै गएको छ । र, कतिले यसलाई राम्रो आम्दानी गर्ने अवसरका रुपमा पनि लिन थालेका छन् । यसैपाला पनि राजधानी लगायत देशका विभिन्न भागमा ठूला-ठूला गाईजात्रे कार्यक्रमहरू भइरहेका छन् । र, जसलाई सर्वसाधारण दर्शकहरूले हेर्न नसक्ने गरी टिकटको मुल्य राखिएको छ । त्यसैले यसलाई एउटा विशुद्ध धार्मिक तथा साँस्कृतिक पर्वका रुपमा मात्र विकास गरिनु आवश्यक देखिन्छ । दिनेश बस्नेत

No comments:

Post a Comment