Monday, April 5, 2010

एक्लो प्रयासको लोकबाजा संग्रहालय

धादिङ जिल्लाको गुजरी-४ का रामप्रसाद कँडेल कम्पोजिटरको काम गर्दागर्दै थाङ्का पेन्टिङ र विक्रीवितरणमा लागे । थाङ्का बेच्न थाङ्काका बारेमा राम्रो व्याख्या गर्न जान्नु आवश्यक हुन्थ्यो । तर, कँडेलसँग यस विषयमा पूरा ज्ञान थिएन । त्यसैले थाङ्काको सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्न उनी गुरुको खोजीमा निस्किए ।

यही खोजीकै क्रममा कँडेल पत्तै नपाई नेपाली लोकबाजा संकलनमा लागिसकेका थिए । यसलाई उनी एउटा 'दुर्घटना' ठान्दछन् । ''थाङ्काको ज्ञानको भोकले भौतारिदै गर्दा स्वामी अखण्डानन्द सरस्वतीलाई भेटेँ । स्वामीले थाङ्काको सैद्धान्तिक ज्ञान सिकाइ दिनुभयो । तर, सिकाएबापतको पारिश्रमिक लिनुको सट्टा बरु देशका लागि केही गरेर देखाऊ भन्नुभयो ।'' कँडेल भन्छन् ''उहाँकै प्रेरणाबाट म यो कार्यमा होमिएको हुँ ।''
तर, एक्लो प्रयासमा बाजा संकलन पनि सहज थिएन । त्यसैले उनी संकलन कार्यलाई संस्थागत गर्ने प्रयासमा लागे । र, लोकबाजा संग्रहालय स्थापना गरे । संग्रहालयको अध्यक्षमा रामप्रसाद कँडेल नै छन् । अहिले जति पनि बाजाहरू संकलन र संरक्षण भएको छ त्यो सबै कँडेलकै उत्साह र लगावका कारण भएको हो ।
तर, बाजा खोज्न त्यति सजिलो थिएन । बाजा खोज्नका लागि पहिले त बाजा चिन्नु र कहाँ पाइन्छ भन्ने जान्नु आवश्यक थियो । तर, कँडेलसँग बाजासम्बन्धी कुनै ज्ञान थिएन । कँडेल भन्छन् ''बाजासम्बन्धी केही पनि जानेको थिइनँ । तर, दत्तचित्त भएर लागेपछि जानिदोरहेछ ।'' अहिले उनी बाजाहरूको व्याख्याता पनि भएका छन् । संग्रहालयमा हेर्न आउनेहरूलाई कुन बाजा कुन जाति र क्षेत्र विशेषको, कति पुरानो र कसरी बजाउनेजस्ता सबै कुरामा दर्शकलाई बुझाउन सक्दछन् ।  कँडेलले बाजाको खोजीमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म डुलिसके । तर, अझै पनि सबै बाजाहरू जुट्न सकेका छैनन् । कतिपय लोकबाजाहरू लोप हुने अवस्थामा छन् भने कतिपय सीमित क्षेत्रमा मात्र प्रचलनमा रहेकाले भेट्न गाह्रो भएको कँडेल बताउँछन् ।
अहिले संग्रहालयले ३ सय ८ वटा नेपाली लोकबाजाहरूको अभिलेख तयार पारेको छ । तर, संकलनमा भने १ सय ६५ वटाभन्दा आउन सकेका छैनन् । संकलनमा रहेका बाजामध्ये ४ वटा नयाँ पनि छन् । नयाँमा अष्टमान पलाञ्चोकेले बनाउनु भएको अष्टसुर, नारदमुनी हार्तम्छालीले बनाउनु भएको ट्याकट्याके र नेपाली शैलीको गितार छ भने  एउटा बाजाले अझै कुनै नाम पाउन सकेको छैन । नाम नभएको गितार र बाजा बुलु मुकारुङले उपलव्ध गराउनु भएको हो ।
यसबाहेक माथिमाथि लेकतिर भेडी गोठालाहरूले बजाउने टुङ्ना र काठको घण्टदेखि तामाको कालिङ, विनायो, मुर्चुङ्गा, गुम्बामा बजाइने च्योदर, शेर्पा जातिको पिवाङ, र बौद्ध तान्त्रिकहरूले बजाउने मान्छेको नलीहाडबाट बनाइएको काङ्लीङसम्म संकलित छन् ।
त्यसमा मादल मात्रै १५/१६ प्रकारका छन् । ती सबै संकलनमा आइसकेका छैनन् । बासुरी र मुरली पनि त्यति नै प्रकारका छन् । तर संग्रहालयमा तीन प्रकारका मात्र छन् । यहाँ संकलित बाजाहरू अधिकांश किनेर ल्याइएका हुन् । कतिपय बाजाको २० हजारसम्म परेको छ । त्यो पनि जसले पायो त्यसले नदिने समस्या पनि संग्रहालयले भोग्नु परेको छ । कँडेल भन्छन् ''सबैभन्दा गाह्रो मान्छेको नलीहाडबाट बनेको काङलीङ ल्याउन भयो ।'' अध्यक्ष कँडेलका अनुसार यो बाजा पनि तीन किसिमको छ । ती जसमा निच कामका लागि प्रयोग गरिने डायर, शक्ति प्राप्त गर्न बजाइने यामल र ज्ञान प्राप्तिका लागि बजाइने तन्त्र हुन् । संग्रहालयसँग ज्ञान प्राप्तिका लागि बजाइने मात्र छ ।
बाजाहरूप्रति लगाव बढाउने उद्देश्यले संग्रहालयले बजाउने तालिम पनि दिने गरेको छ । कँडेलका अनुसार हालसम्म मुर्चुङगा, पालुवा, जोरमुरली, सारङ्गी, डम्फु र उर्नीजस्ता बाजाहरूको तालिम सम्पन्न भएका छन् ।  १ सय ८० जनाले यस प्रकारको तालिम लिएका थिए ।
लोकबाजाको यो संग्रहालय नेपालकै पहिलो भने होइन । कँडेलका अनुसार यसअघि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०३८ सालतिर सुरु गरेको थियो । लाखौं खर्च गरेर प्रतिष्ठानले सुरु गरेपनि त्यसले निरन्तरता पाउन सकेन ।
अहिले यो संग्रहालयले पनि कतैबाट सहयोग पाएको छैन । गुठी संस्थानको भवनमा संग्रहालय संचालन भइरहेको छ । संग्रहालयले बाजासम्बन्धी लेखरचना समावेश गरेर 'बाजा' नामको पत्रिका पनि प्रकाशन गर्ने गरेको छ । तर, सहयोगकै अभावमा कतै यो संग्रहालयले पनि निरन्तरता नपाउने त होइन भन्ने आशंका छँदैछ । संग्रहालयका सदस्य शारदा धिताल पनि कँडेलले हात झिक्ने हो भने बन्द नै हुनसक्ने बताउँछन् ।
हाल संग्रहालयमा विहानदेखि साँझसम्म अध्यक्ष कँडेल नै बस्छन् । तर, संग्रहालयको आयस्रोत नभएका कारण कँडेलले घरको सामल ल्याएर गुजारा चलाइरहेका छन् । ''म धादिङ घरमा श्रीमतीले शिक्षण पेशाबाट कमाएको मासिक २ हजार ल्याएर बाँचिरहेको छु ।''
तर, यस्तो अवस्थामा कतै संस्था नै बन्द त हुँदैन भन्ने आशंका व्यक्त गर्दा कँडेल आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म घरबारी बेचेर पनि संस्था चलाइरहने बताउँछन् । कँडेल भन्छन् ''म अहिले सन्तुष्ट छु, म कुनै दुर्घटनामा परेर मरिनँ भने घरबारी बेचेर पनि संग्रहालय चलाउछु ।''

No comments:

Post a Comment